प्रदेश २ को सरकारले ल्याएको प्रदेश प्रहरी ऐनमा दलित समुदायलाई छुट्टयाइएको आरक्षण कम भएको भन्दै जनकपुरमा विरोध प्रदर्शन गरिएको छ । दलित अधिकार परिषद् प्रदेश २ ले प्रदेश प्रहरी ऐनमा आरक्षणको प्रतिशत बढाउनुपर्ने माग गर्दै बुधबार जनकपुरमा प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शन गर्दै प्रदेशसभा समेत घेराउ गरिएको छ । प्रदेशसभा घेराउ गर्न पुगेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केही बेर झडप भएको थियो ।
प्रदेश २ को सरकारले ल्याएको प्रदेश प्रहरी ऐनमा दलितलाई ७ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । दलित अगुवा भोला पासवानले प्रदेश २ मा मधेसी दलितको जनसंख्या १७.२९ प्रतिशत रहे पनि प्रदेश सरकारले आरक्षणमा विभेद गरेको ारोप लगाए । जनसंख्याअनुसार आरक्षणको व्यवस्था हुनुपर्ने भन्दै पासवानले प्रदेश प्रहरी ऐनमा आरक्षणको क्लस्टर नमिलाइएको बताए ।
सरकारले सबै अवसरमा दलित समुदायलाई बाइपास गरेको आरोप प्रदर्शनकारी पक्षले लगाएको छ । केन्द्रले जस्तै प्रदेश सरकारले पनि जनताप्रति निरंकुशता देखाउन थालेको उनीहरुको भनाई छ । प्रदेश प्रहरी ऐनमा कम्तीमा १७ प्रतिशत आरक्षण दलितलाई हुनुपर्ने माग गरिएको छ ।