काठमाडौं फागुन १० : प्रधानसेनापति पूर्णचन्द्र थापा आज सैनिक मुख्यालयबाट एक्कासी सर्बोच्च अदालततर्फ लागेपछि नेपाली राजनीति बजारमा एक्कासी तरङ्ग पैदा भएको थिय। सेनापति थापा केकालागि सर्बोच्च पुगे भनेर चर्चा परिचर्चा पनि केहि समय ब्यापक रुपमा चल्यो। चर्चा चले बमोजिम प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमवार भेटवार्ता पनि भएको छ ।
तर भेट बार्ता भने अरु कुनै कारण नभएर सेना र सर्वोच्चबीच देखिएको जग्गा विवादका विषयमा कुराकानीका लागि थापा राणालाई भेट्न सर्वोच्च गएका हुन् । सर्वोच्च अदालतको पछाडिपट्टी रहेको सर्बोच्चको जग्गामा सेनाले भौतिक संरचना बनाएकोमा सर्वोच्चले हटाउन भनेपछि यही विषयमा कुराकानीका लागि प्रधानसेनापति सर्वोच्च पुगेको सर्वोच्च स्रोतले बताएको छ ।
कतिपयले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा फैसला अन्तिम चरणमा पुगेको बेला प्रधानन्यायाधीश र सेनाका प्रमुखबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरेपनि सर्वोच्च स्रोतले भने यसबारे कुनै कुराकानी नभएको स्पष्ट पारेको छ ।