काठमाडौं फागुन १०: सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले व्यावसायिक दक्षता अभिबृद्धिमा विशेष भूमिका खेल्ने व्यावसायिक तालिमले अधिकृतहरुको बृत्तीविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताएका छन। राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २५ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिममा सहभागी अधिकृतको सम्पन्न तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दा महानिरीक्षक खनालले उक्त्त कुरा बताएका हुन।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त तालिमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी निरीक्षक निरन थापालाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरेका थिए ।
महानिरीक्षक खनालले तालिमका प्रशिक्षकहरुलाई प्रशंसापत्र वितरण गर्दै प्रशिक्षार्थीहरुले तालिमबाट प्राप्त ज्ञान, कला कौशललाई कार्यक्षेत्रमा खटिदा व्यावसायिक कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गरेका थिए। उनले कमाण्डर तहका अधिकृतहरुले मातहतलाई सिकाउँदै कर्तव्यनिष्ठ भई सामुहिक भावनाकासाथ इमान्दारितापूर्वक सांगठानिक जिम्मेवारीका क्षेत्रहरुमा समर्पणभावका साथ उत्कृष्ठ कार्यसम्पादनमा कृयाशिल रहन समेत निर्देशन दिएका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले नागरिकको सेवा, सुरक्षा र आपत विपदमा परेकाको उद्वारमा देखाएको कर्तव्यपराणताको विभिन्न निकाय तथा नागरिक स्तरबाट समेत प्रशंसा भएको उल्लेख गरेका थिए । तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा ३६ जना सशस्त्र प्रहरी निरीक्षक प्रशिक्षार्थीका रुपमा सहभागि रहेका थिए ।
तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, व्यवस्थापन, ट्याक्टिस, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विषयविज्ञहरुबाट प्रशिक्षण प्रदान गरिएको थियो । उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।