प्रधानमन्त्री ओलीको यस्तो छ सर्वोच्चलाई लिखित जवाफ

| 2021 Feb 18 | 05:32 pm 2609

काठमाडौँ फागुन ६: प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेश अनुसार बिहिबार लिखित जवाफ पेश गरेका छन्। ३ पेज लामो जबाफ फर्काउदै प्रधानमन्त्री ओलीले आफूविरूद्ध सर्वोच्च अदालतमा परेको अपहेलनासम्बन्धी मुद्दा खारेज हुनुपर्ने जिकिर गरेका छन्।

प्रधानमन्त्री ओलीले सर्वोच्चमा पेस गरेको लिखित जवाफमा आफूले अदालतको मानहानी नगरेको जिकिर गर्दै आफूले बोलेका कुरामा तोडमोड गरेर मुद्दा हालिएको दाबी गरेका छन्।

सम्मानित अदालतप्रति उच्च सम्मान रहेको जनाउदै प्रम ओलीले न्यायपालिकाको स्वतन्त्रता र कानूनको शासन लोकतन्त्रका प्रमुख आधारस्तम्भ भएको आफ्नो लिखित जवाफमा बताएका छन्।

हाम्रो संवैधानिक प्रणाली शक्ति पृथकीकरण एवं नियन्त्रण तथा सन्तुलनको सिद्धान्तमा आधारित छ। लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाको लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको बताउदै न्यायपालिकाको सम्मान कम हुने कार्य गरेको भनि कल्पना गर्नु समेत दूराग्रहपूर्ण भएको उल्लेख गरेका छन् ।

आफ्नो लिखित जवाफमा प्रम ओलीले अदालतबाट भएका फैसला तथा आदेशको आफुले नेतृत्व गरेको सरकारबाट सदैव सम्मान र कार्यान्वयन भइरहेको समेत जिकिर गरेका छन्। सर्वोच्च अदालतले गरेका संविधान र कानूनको व्याख्या पूर्णतः पालना र कार्यान्वयन भएका छन्। सम्मानित अदालतबाट न्याय सम्पादनको क्रममा हुने काम कारवाहीमा कुनै अबरोध गरिएको छैन।

कुनै फैसला वा आदेशको अवज्ञा गरिएको भन्ने दाबी निवेदकले लिन सकेको अवस्था छैन,’ प्रधानमन्त्री ओलीको जवाफमा भनिएको छ,‘ मैले नेकपाको कार्यकर्ता भेलामा सम्मानित सर्वोच्च अदालतमा मैले पेश परेको लिखित जवाफ सम्बन्धमा आफ्नो भनाइ राखेको हुँ र त्यसमा बोलिएका केही शव्द तथा वाक्य उल्लेख गरी पूरा शब्द तथा वाक्यलाई नहेरी मुद्दा चलाउन पाइन्छ कि भनी मनपरी ढंगले बीच-बीचबाट शब्द निकाली फूलबुट्टा भरी प्रस्तुत निवेदन गरेको ओलीको आरोप छ ।

(प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा पेश गरेको पूर्णपाठ)

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.