स्वदेशमै आफ्नो सीप लगाएर समृद्ध नेपाल बनाउन मन्त्री विष्टको आग्रह

रिपोर्ट नेपाल | 2018 Jul 11 | 05:12 pm 3567

काठमाडौँ, असार २७ : नेपाल कम्युन्ष्टि पार्टी ( नेकपा) का नेता तथा श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारबाट फर्किएका युवाको सीप, ज्ञान र क्षमतालाई सरकारले उपयोग गर्न कुनै कसुर नराख्ने बताएका छन् ।

राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा नेता विष्टले वैदेशिक रोजगारबाट फर्किएका युवालाई नेपालको हितका लागि आफ्नो श्रम, सीप स्वदेशमा नै प्रयोग गर्नका लागि वातावरण बनाइने बताएका थिए ।

मन्त्री विष्टले वैदेशिक रोजगारबाट फर्किएका युवाको क्षमता उपयोग गर्नका लागि पूँजीदेखि स्रोतसाधन परिचालन गर्न सरकार प्रतिबद्ध रहेको बताउदै फर्किएका युवाको श्रम सीपलाई प्रयोग गरेर सरकार अगाडि बढ्ने कुरामा जोड दिएका थिए ।

“आफूले सिकेका सीप र ज्ञानलाई स्वदेशमै उपयोग गर्नका लागि सम्बन्धीत पक्षलाई आग्रह गर्दै मन्त्री विष्टले नेपालको विकास यहीका युवाबाट मात्र सम्भव भएकाले विदेशमा रहेका युवालाई पनि स्वदेशमा फर्कने वातावरण बनाउने दृढता व्यक्त गरेका थिए ।

उनले सरकारले शुरु गरेको समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानलाई सफल बनाउनका लागि वैदेशिक रोजगारमा रहेका युवाहरुको उल्लेख्य योगदान हुने भएकोले स्वदेशमै बसेर देश बनाउने अभियानमा सरीक हुन समेत आग्रह गरेका थिए ।

मन्त्री विष्टले वैदेशिक रोजगारमा देखिएका समस्यालाई समाधानका लागि केही दिनमा नै सुधार गर्ने बताउँदै अब केही वर्षभित्रै सीप सिकेका युवालाई मात्र वैदेशिक रोजगारमा पठाइनेछ उनको जिकिर थियो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई पूरा गर्ने अभिभरा युवाको काँधमा रहेको बताएका थिए ।

वर्तमान सरकार मुलुकलाई समृद्ध बनाउनका लागि दक्ष, सीप र ज्ञान भएका युवालाई ठोस जिम्मेवारी दिएर अगाडी बढ्ने बताएका थिए । त्यसका लागि विज्ञहरुसँग छलफल भइरहेको मन्त्री विश्वकर्माको भनाई रहेको थियो ।

मन्त्री विश्वकर्माले आर्थिक र सामाजिक वातावरणले युवालाई वैदेशिक रोजगारमा जान बाध्य तुल्याएको बताउदै अब विदेश नभई स्वदेशमा नै आफ्नो श्रम लगाएर देश विकासमा युवा लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।

युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतमले युवालाई स्वरोजगार बनाउनका लागि न्यूनतम ब्याजमा ऋण प्रवाह गरिएको जानकारी दिएका थिए ।

कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएका युवा उत्तम अधिकारीले सरकारले लगानीको सुनिश्चिताको वातावरण बनाए आफूहरु कृषि, पर्यटन, जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार रहेको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.