महोत्तरी, २७ असार : बाढीको कारणले औरही नगरपालिकाअन्तर्गत पर्ने जंगाहा पुलमा आवागमन ठप्प भएको छ । पुलमा बाढीले क्षति पुर्याएपछि प्रहरीले मंगलबारदेखि साना सवारी सञ्चालनमासमेत रोक लगाएको हो ।
क्षति निरीक्षण गर्न मंगलबार जंगाहा खोला पुगेका कडायतले जोखिम बढेदेखि पुलमा निगरानी बढाएको छ । पुल उच्च जोखिममा रहेकोले मानवीय क्षति हुन नदिन सवारी सञ्चालनमा रोक लगाएको प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । ठूला सवारी २ साताअघिदेखि नै चल्न दिएका छैनन् ।
बाढीले पुलको दायाँबायाँ कटान गरी पूर्वी खण्डमा क्षति पार्दै गएकोले औरही नगरपालिकाको कृषि बजारसमेत जोखिममा परेको छ । पुलको एक नं पिलर आसपासको माटोसमेत बगाएपछि जोखिम बढेको प्राविधिकले जनाए ।
बर्दिबास जलेश्वर सडक खण्डलाई गौशाला बजार हुँदै सर्लाही सदरमुकाम मलंवासँग जोडने १ सय ४९ मिटर लम्बाईको जंगाहा पुलमा आवागमन ठप्प भएपछि सर्वसाधारण मर्कामा छन् । स्थानीय कृषकको उत्पादनलाई गौशाला र औरही बजार पुर्याउन असहज भएको छ । ३ दर्जन टेम्पो चालकको रोजीरोटी प्रभावित छ । यात्रुले पनि सास्ती पाएका छन् । उनीहरुलाई सदरमुकाम जलेश्वर पुग्न बर्दिबास अथवा भारतीय घुमाउरो बाटो प्रयोग गर्नु पर्ने बाध्यता छ ।