बैतडी, माघ २४ः जिल्लाको पुर्चाैडी नगरपालिका–१० मा पर्ने विजयपुरको महर गाउँमा बुवाले चलाएको गोली लागेर छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा विनिता महरा धामी रहेकी छन् ।
स्थानीयले अन्दाजी ५५ वर्षीय धनसिंह महराले गोली हानी हत्या गरेको प्रहरीले जानकारी दिएकाे हाे । पुर्चौंडी नगरपालिकाकी उपप्रमुख जानकी ऐर बमले महराले गाेली हानी छोरीको हत्या बताएकी छन् ।
उनले भनीन् “घर झगडाका क्रममा बाबुले छोरीलाई भरुवा बन्दुक हानेछ । छोरीको घटनास्थलमै मृत्यु भएको छ,” उनले लेखाजोखासँग भनिन्, “अहिले प्रहरी टोली घटनास्थल पुगिसकेको छ ।”
गोली हानेर महरा जंगलतिर रहेका बताइएको छ । शनिबार दिउँसो पनि प्रहरी महराको घरमा झगडा मिलाउन पुगेको बुझिएकाे छ । “महराकी दुईटी श्रीमती हुन् । श्रीमान श्रीमतीबीचको झगडा मिलाउन दिउँसो प्रहरी आएको थियो,” उपमेयर बलमे भनिन्, “प्रहरी गएपछि फेरि झगडा भएछ । बुवा आमाबीचको झगडा साम्य पार्ने क्रममा छोरीलाई गोली लागेको सुन्नमा आएको छ ।”
उनकाअनुसार विनिता एक महिना अगाडि माइतीघर आएकी थिइन् । मृतक विनिताका एक वर्षका छोरा रहेकाे बताइएकाे छ ।