मनाङमा फेरि भीषण आगलागी

| 2021 Jan 28 | 07:54 am 2417

मनाङ, माघ १५ः नासो गाउँपालिकाको थोचेमा मंगलबार रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगोले बृहत् रुप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन दिनभर खटेको थियो । टोलीलाई मानव बस्ती जोगाउन हम्मेहम्मे परेको छ । मानव बस्ती भएको वडा नं. ६ र ७ को तिल्चेनजिक आगो पुग्न लागेको छ भने वडा नं ५ थोंचे खतरामुक्त रहेको छ ।

आगो मानव बस्तीनजिकै आइपुगेकाले नियन्त्रणमा लिने प्रयासमा लागेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । आगलागी के कति कारणले भयो भन्ने पत्ता नलागेको उनले बताए । उनले प्रहरी, सेना, सशस्त्र प्रहरी तथा स्थानीय मिलेर अग्नि रेखा तयार पारी बस्ती जोगाउने प्रयास गरिरहेको बताए ।

हिमाली जिल्ला भए पनि यसपालि हिउँ तथा पानी नपरेकाले सुकेको निगालोको झाडीमा आगलागी भएको छ । धेरै ठूला रूखहरु नजले पनि साना बुट्यान तथा झाडी जलेका छन् । यो समाचार तयार पार्दासम्म एउटा डाँडो पूरै जलिसकेको छ र आगो मानव बस्तीनजिक पुगेको छ ।

भिरालो भौगोलिक बनावटका कारण आगो नियन्त्रणमा लिन कठिन भएको उनको भनाइ थियो । आगोको लप्का र ढुंगा तातेर फुटेर खस्नाले जोखिम मोलेरै भए पनि सय जनाको टोली आगो नियन्त्रणमा ल्याउन खटिइरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । उनले भने– ‘अहिले हामी बस्ती जोगाउने प्रयासमा छौं, बस्तीभन्दा सय मिटर टाढा मात्रै आगो छ ।’ उनले नयाँ दाउराघाँसको आसले स्थानीयले आगो लगाएको हुन सक्ने आशंका व्यक्त गरे ।

त्यसै गरी अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले प्रतिशोधको हिसाब अथवा व्यक्तिगत फाइदाका लागि आगो लगाइएको हुन सक्ने बताए । उनले ताचैभन्दा माथिको लेकमा लागेको आगो भौगोलिक विकटताले गर्दा नियन्त्रणमा लिन गाह्रो परेको बताए। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.