बञ्चरो प्रहार गरी श्रीमतिकाे हत्या गरेको अभियोगमा राई पक्राउ

| 2021 Jan 23 | 05:20 pm 2037

मोरङ, माघ १०ः आफ्नै श्रीमती ३५ वर्षीया दिलमाया राईलाई बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका-२ सिरुझार बस्ने ५० वर्षीय डिक बहादुर राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा राईले दिलमायालाई बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइतेको मंगलबारे अस्पताल हुँदै न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

त्यसैगरी कैलालीमा विभिन्न प्रलोभनमा पारी ७३ लाख ९३ हजार ९ सय ९ रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न रही फरार गौरीगंगा नगरपालिका-८ बस्ने ३४ वर्षीय राजाराम चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लम्कीचुहा नगरपालिका-९ धनचैयास्थित भिनाजुको घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

चौधरीले सिटिभिटिबाट अनुमति लिएको भन्दै अनुमति विना नै गैरकानूनी रूपमा धनगढी उपमहानगरपालिका-८ स्थित संचालन गरेको मल्टिस्किल ईन्ष्टिच्यूट अफ टेक्नोलोजी प्रालिमा भर्ना लिई अध्ययन गराई अभिभावक तथा ईन्ष्टिच्यूटमा अध्ययनरत १ सय १८ जनालाई झुक्याई ४९ लाख २८ हजार ४ सय ९५ रुपैयाँ ठगी गरेको मुद्धामा जिल्ला अदालत कैलालीको २०७४ चैत १४ गतेको फैसालाले उनलाई २ महिना कैद र ३ लाख २८ हजार ४ सय ९५ रुपैयाँ जरिवाना भएको थियो ।

२०७५ मङ्सिर ४ देखि मङ्सिर ७ गतेसम्म पटक पटक गरी सोही ईन्ष्टिच्यूटमा बिद्यार्थीहरूको भर्ना शुल्क र मासिक शुल्क गरी १९ लाख ६५ हजार ४ सय १४ रुपैयाँ ठगी फरार भएको तथा धनगढी उपमहानगपालिका-१ बस्ने एक महिलालाई भारत बैंगलोरबाट बिएससी नर्सिङ पास गरेको प्रमाणपत्रहरू त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट मान्यता दिलाउन भनि प्रलोभनमा पारी ५ लाख रुपैयाँ ठगी गरेको अनुसन्धनाबाट खुल्न आएको थियो ।

सोही कार्यमा संलग्न कैलाली, कैलारी गाउँपालिका-९ बस्ने ३३ वर्षीय शिव कुमार चौधरीलाई यसअघि माघ ५ गते पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.