काठमाडौं, माघ ४: प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतका कुनै न्यायाधीशलाई आफूले भेटेको प्रमाणित गर्न चुनौती दिएका छन्। प्रधानमन्त्री ओलीले शनिबार आफू नेतृत्वको नेकपाको प्रदेश १ स्तरीय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै आफूले भेटेको भनी नाम आएका न्यायाधीशलाई सायद कहिल्यै नभेटेको र नचिनेको पनि बताए।
ओलीले ‘यस्तो झुट र बेइमानीको सहारा’ नेकपाकै अर्काे खेमाका नेताहरू पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले लिन थालेको आरोप लगाए। ‘निर्वाचन हुनु हुँदैन, पुरानै संसद् पुनःस्थापना हुनुपर्छ भनेर अदालत जानुहुन्छ। उहाँहरूसँग कुनै तर्क छैन। झुट र बेइमानीको सहारा लिएर उहाँहरू बोल्नुभएको छ’, ओलीले भने, ‘फलानो–फलानो न्यायाधीश प्रधानमन्त्रीलाई भेट्न गए। यति बजेदेखि यति बजेसम्म भन्नुभन्दा झुट के हुन्छ ? न्यायालयमाथि योभन्दा ठूलो प्रहार के हुन्छ ? उहाँहरू यो कुराको प्रमाणित गर्नुहुन्छ ? एकपटक होइन, सायद कहिल्यै भेटेको छैन।’
उनले सपना प्रधान मल्ललाई न्यायाधीश हुनुअघि कार्यक्रममा देखेको उल्लेख गरे। ‘अरू न्यायाधीशलाई मैले देखेको पनि छैन र चिनेको पनि छैन’, उनले भने, ‘एउटा पत्रिका जो झुट बोल्ने प्रक्रियाको ठेक्का लिएर बसेको छ। हिजो सर्वोच्चले भनिसक्यो। फेरि आज पनि न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको हो भनेर समाचार लेख्यो। लोकतान्त्रिक संस्थामाथि हमला ?’
प्रतिनिधिसभा विघटन मुद्दा सर्वाेच्चको संवैधानिक इजलासमा विचाराधीन रहेका बेला प्रधानमन्त्री ओलीले चार न्यायाधीशलाई भेटेको कुरा शुक्रबार उठेको थियो।
उनले प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्रीको अधिकार प्रयोग गरिएको तर्क गर्दै राष्ट्रपतिलाई संविधानको धारा नै उल्लेख गरेर सिफारिस गरिएको प्रस्ट पारे। किर्ते गर्ने चलन आफूहरूकोमा नभएको उनले बताए। अन्नपूर्ण पाेस्ट दैनिकबाट