नेकपाका दुवै खेमा आन्तरिक समीक्षामा

| 2021 Jan 15 | 08:27 am 1673

काठमाडौं, माघ २: प्रतिनिधिसभा विघटनपछि औपचारिक रूपमै दुई खेमामा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै खेमा आन्तरिक समीक्षामा जुटेका छन्। बुधबार दुवै समूहको स्थायी समिति बैठक बसेको छ।  प्रधानमन्त्री केपी शर्मा ओली समूहको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र दाहाल–नेपाल खेमाको बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको हो। दुवैतर्फका बैठकले कुनै निर्णय गरेन। दुवै पक्षको छलफल आ–आफ्ना अभियानका विषयमा केन्द्रित रह्यो।

ओली पक्षले निर्वाचन केन्द्रित माहोल बनाएर जानुपर्नेमा जोड दिएको छ। अहिलेसम्म आफ्नो पक्षमा आधारभूत तहमै सोचिएभन्दा राम्रो हुँदै गएको सो समूहको विश्लेषण छ। उता दाहाल–नेपाल पक्षका नेताले भने प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन अझै प्रभावकारी बनाउनेबारे छलफल गरेका छन्। आवश्यक परे आन्दोलनको स्वरूप र चरित्र बदल्नेबारे समेत छलफल भएको छ।

बालुवाटारको बैठकमा प्रतिनिधिसभा विघटनपछि आफ्नो पक्षमा देशव्यापी रूपमा भएका संगठन सुदृढीकरण र जनसभाबारे समीक्षा भएको नेता केशव बडालले जानकारी दिए। ‘प्रधानमन्त्रीले अहिलेसम्म यो बीचमा भएका वस्तुस्थितिबारे ब्रिफिङ गर्नुभयो। साथीहरूले पनि आ–आफ्ना ठाउँ र क्षेत्रहरूका बारेमा रिपोर्टिङ गर्नुभयो’, उनले भने।

बैठक औपचारिक नभएकाले कुनै निर्णय नभएको बडालले बताए। उनले भने, ‘जनतामा हामीहरूकै पक्षमा असाध्यै राम्रो उत्साह आएको छ। आधारभूत तहमा, स्थानीय तहका वडा तहसम्मै सोचेभन्दा राम्रो छ। सुदूरपश्चिममा पनि त्यहाँको सभामा भएको उपस्थितिलाई धेरै राम्रो उत्साहका रूपमा विश्लेषण गर्ने काम भएको छ।’ बडालका अनुसार बैठकमा पार्टीमा भएको क्षति सुधार्ने कार्ययोजना बनाउनेबारे छलफल भएको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.