विप्लवका वार्ता टोली सदस्य पक्राउ

| 2021 Jan 14 | 08:41 am 2725

काठमाडौं, माघ १: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका वार्ता टोली सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ बुधबार दिउँसो ललितपुरबाट पक्राउ परेका छन्। बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही पनि पक्राउ परेको जनाइएको छ। सरकारसँग अनौपचारिक वार्ताको तयारीका बेला वार्ता टोलीकै सदस्य समातिएको विप्लवको पार्टीका एक नेताले बताए।

‘सरकारका मानिसहरूसँग अनौपचारिक तहमा हाम्रो कुराकानी भइरहेका थिए। वार्ताका लागि गम्भीरता देखाउँदै पार्टीको तर्फबाट तीन सदस्यीय टोली पनि गठन गरेका थियौं। तर, त्यसमध्येकै एक सदस्य गिरफ्तारीमा पर्नुभएको छ’, अन्नपूर्ण पोस्ट्सँगको सम्पर्कमा आएका ती नेताले भने, ‘हामीले बनाएको वार्ता टोलीमा यी–यी नेता थिए भन्ने सरकारका मान्छेलाई कुनै न कुनै रूपमा सन्देश पुगिसकेको थियो।’

पार्टीभित्रको शक्ति क्षयीकरण, कोरोना महाव्याधीपछिको आर्थिक सामाजिक अवस्था, राजनीतिक संकटलगायतका कारण उक्त पार्टी  सरकारसँग वार्ता गर्न तयार देखिएको थियो। त्यसका लागि पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली उसले बनाएको थियो। उक्त टोलीमा सचिवालय सदस्य बाँस्तोला र केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो सदस्य चिरन पुन सदस्य थिए। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.