काठमाडाैं, पुस २९ः नेपाल सरकारले कोरोनाविरुद्धको खोप खरिदका आर्थिक संकलन गर्न ‘खोप कोष’ को स्थापना गरेको छ । सरकारले एक सार्वजनिक सूचना नै जारी गरेर कोषमा योगदानतार्थ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संस्थालगायतलाई सहयोगका लागि आह्वान गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोषको आय व्यय सरकारले अबलम्बन गरेको लेखा प्रणाली बमोजिम राखिनुका साथै लेखा परीक्षण प्रचलित कानुम बमोजिम गरिने उल्लेख गरेको छ ।
मन्त्रालयका अनुसार हाल परीक्षण भएका कोरोनाविरुद्धको खोप प्रभावकारी भइरहेको अवस्थामा लक्षित समूहलाई निःशुल्क उपलब्ध गराउन ठूलो धनराशि खर्च हुने भएकाले आर्थिक सहयोग आह्वान भएको हो ।
मन्त्रिपरिषद्को पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कोष खडा गर्नका लागि स्वीकृति दिएको बताइएको छ । सहयोग गर्न चाहनेले कोष तथा लेखा नियन्त्रणको कार्यालय त्रिपुरेश्वरको खाता नम्बर १७००१००१०२०६०००० मा रकम जम्मा गर्न सकिनु सूचनामा उल्लेख गरिएकाे छ ।
