भारी हिमपातका कारण मनाङकाे जनजीवन कष्टकर

रिपोर्ट नेपाल | 2021 Jan 06 | 08:41 am 2633

मनाङ, पुस २२ः देशैभरी पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आएको छ । मौसमको खराबीका कारण हिमालपारिको जिल्लामा हिमपात शुरु भएको छ । सोमबार बेलुकीदेखि परेको हिमपातले मनाङको जनजीवन झन् कष्टकार बनेको छ ।

सोमबारदेखि भारी हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर बनेको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडा सदस्य चोल्पा गुरुङले जानकारी दिए ।

केही दिनअगाडि खोला जमेर खानेपानीको अभाव झेल्दै आएका यहाँका मानिसलाई हिमपातले घरभित्रै थन्काएको छ । मानिस त जसोतसो घरभित्र रहे पनि पशुचौपाय हिमपातको सिकार भएका पशुपालक गुरुङले बताए ।

हिमपातले विकास निर्माणका कामहरु पनि ठप्प भएका छन् । बर्खामा बाढीपहिरो र हिउँदमा हिमपातका कारण विकास निर्माणले गति लिन नसकेको पूर्वाधार विकास मनाङका प्रमुख नवीनचन्द्र अधिकारीले बताए ।

हिमपात कारण खेतीबाली सप्रने भए पनि जनजीवन प्रभावित भएको छ । कोरोना महामारीमा जिल्लाभित्र रहेका मनाङबासी हिमपातको असर थेग्न बाध्य भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.