काठमाडौं, पुस १४ः प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड–माधव) पक्षले आज देशव्यापी विरोध प्रदर्शन गरेका छन् । मंगलबार नेकपाकाे उक्त समूहले काठमाडौंमा पनि प्रतिनिधिसभा विघटनको विरुद्धमा शक्ति प्रदर्शन गरेकाे हाे ।
ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै देशैभर प्रदर्शन गर्न लागिएको सो पार्टीका प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यस समूहले संघीय राजधानी काठमाडौंमा करिब ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको छ । बिहान ११ बजेदेखि उपत्यकाका नयाँबानेश्वर, लैनचौर, टेकु, कुपन्डोल, चाबहिल, मैतीदेवी र नक्शाल लगायत विभिन्न क्षेत्रबाट जुलुस निकालेका छन् । जुलुसहरू भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने जनाइएकाे छ ।
भृकुटीमण्डपमा हुने सभामा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने बताइएको छ ।
विभिन्न प्लेकार्ड र ब्यानरसहित निस्किएकाे जुलुस भृकुटीमण्डपमा केन्द्रित भइरहेकाे छ ।