एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ

| 2020 Dec 29 | 07:46 am 1857

मोरङ, पुस १४ः जिल्लाको जहादा गाउँपालिका १ स्थित भुटाहाबाट एपीएफ टोलीले करीव २० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी जिल्लाको बराह नगपालिका ७ का ३१ वर्षीय गणेश राई रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जहादाबाट खटिएको एपीएफ टोलीले को २ ह ४२४१ नम्बरको अटोमा शंका लागि जाँच गर्दा उक्त गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले उक्त अटो समेत बरामद गरेको छ ।

एपीएफ टोलीले पक्राउ परेका निज राईलाई बरामद गाँजा तथा अटोसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानी विराटनगरमा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टिबाट खटिएको एपीएफ टोलीले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका २ स्थित सीमा ईलाकाबाट २५ वटा नाईट्राजिपाम ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बुटवल उपमहानगरपालिका ५ का २१ वर्षीय अमित श्रेष्ठ, सोही उपमहानगरपालिका ७ आदर्शनगरका २२ वर्षीय अभिषेक जैसवाल रहेका छन् ।

लु २५ प २०६२ नम्बरको स्कुटरमा सवार उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त स्कुटर समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय धकधईमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.