काठमाडाैं, पुस १२ः नेपालको संविधानप्रदत्त राष्ट्रिय एकताको रक्षा सम्बन्धी दायित्व निर्वाह एवम् नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रममा समाविष्ट एकीकरण मार्ग कार्यक्रम कार्यान्वयन गर्ने क्रममा नेपाली सेनाले विगतका बर्षहरुमा जस्तै यस वर्ष पनि पुस २७ गते राष्ट्रिय एकता दिवश तथा पृथ्वी जयन्ती विविध कार्यक्रमहरु सहित मनाउन लागेको छ ।
यस क्रममा गोरखादेखि काठमाडाैंसम्म एकिकरण पदयात्रा लगायत राष्ट्रव्यापी कविता प्रतियोगिता समेत आयोजना गर्ने योजना रहेको छ ।
एकिकरण पदयात्रा पुस २१ गते गोरखाबाट शुरु भई धादिङ्ग, नुवाकोट र नागार्जुन हुँदै पुस २६ गते हनुमानढोका आईपुग्ने छ र पुस २७ गते जङ्गी अड्डमा हुने कार्यक्रममा भाग लिने जनाइएकाे छ ।
यस पदयात्रामा नेपाली सेना, स्थानीय जनता, विद्यार्थिहरु समावेश हुने छन् । यसै पदयात्रामा मिरकासिमको फौजलाई पराजित गरेपछी राष्ट्रनिर्माता पृथ्वी नारायण शाहले खडा गरेका नेपाली सेनाका पाँच वटा कम्पनीहरुको निशान, नेपालको राष्ट्रिय झण्डा र एकिकरण ज्योति (Unification Torch) समावेश रहनेछन् ।
यसै क्रममा नेपाली सेनाले राष्ट्रव्यापी कविता प्रतियोगिता समेत आयोजना गर्ने योजना रहेको छ यस क्रममा समस्त इच्छुक नेपाली कविवर्गहरुले राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय एकता प्रवर्द्धन र पृथ्वी नारायण शाह सम्बन्धी भावमा कविता लेखी सहभागिता जनाउन सक्ने जानकारी गराएकाे छ।
सहभागिता सम्बन्धि थप विवरणको लागि नेपाली सेनाको Website वा Facebook page वा Twitter Handle मा हेर्न सकिने छ । कविता
पुस २० गतेको ४ बजे भित्र सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालय वा [email protected] इमेलमा पठाउन सकिने छ ।
प्रतियोगितामा छानिएका कविताहरुको संग्रहहरु जंगी अड्डा परिसरमा स्थापना हुने पृथ्वीनारायण शाह अध्ययन केन्द्रमा राखिने र उत्कृष्ट २५ कविताहरु संग्रह पुस्तकको रुपमा प्रकाशित गरिने छ भने उत्कृष्ट १० कविहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्र उपलब्ध गराइने बताइएकाे छ ।