क्रसरमार्फत अवैध कारोबार

रिपोर्ट नेपाल | 2020 Dec 27 | 08:46 am 2145

म्याग्दी, पुस १२: नदी दोहनमा संलग्न गिरोहले म्याग्दीमा विकास आयोजनामार्फत बगर उत्खनन र चोरी निकासी सुरु गरेका छन्। आयोजनाले सञ्चालन गरेका अस्थायी क्रसरमार्फत अवैध कारोबार हुन थालेको हो।

गृह मन्त्रालयको गत महिनाको परिपत्रपछि प्रशासनले कडाइ गरेपछि स्थायी रूपमा खोलिएका कतिपय क्रसर बन्द छन्। कोरोना जोखिम, लकडाउन, पहिरो, बाढी जस्ता कारणले विकास आयोजनामा ढिलासुस्ती भएको छ। सोही मौका छोपेर नदीजन्य वस्तुको व्यापार सुरु भएको हो। मंसिर २४ गते बेनी नगरपालिका ९ गलेश्वरमा बिक्रीका लागि ल्याइएको बालुवासहित ना. ८ ख ४२०८ र ना. ८ ख ४२०७ नम्बरको टिपर सशस्त्र प्रहरीले नियन्त्रणमा लियो।

गलेश्वरस्थित आश्रित गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङका अनुसार दुवै टिपर बेनी–जोमसोम–कोरला सडक आयोजनाको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनका हुन्।

ओमकारेश्वर राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेडको सहायक ठेकेदार हो। मुख्य ठेकेदार शर्मा–युनाइटेडले रघुगंगा गाउँपालिका–१ बेगखोलामा दुई वर्षदेखि अस्थायी क्रसर उद्योग सञ्चालन गरेको छ।

आयोजनाभन्दा अन्य प्रयोजनका लागि बालुवा बिक्री गरेको पुष्टि भएपछि जिल्ला अनुगमन समितिले ओमकारेश्वरलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको छ। जफत गरिएको बालुवा बढीबढाउमा बेच्न गाउँपालिकालाई जिम्मा लगाउने निर्णय भएको जिसस प्रमुख देवेन्द्र केसीले बताए।

युनाइटेडको अस्थायी क्रसरभन्दा करिब तीन किलोमिटर तल रघुगंगा गाउँपालिका–२ स्याउली बजार भन्ने ठाउँमा अर्को क्रसर उद्योग खोल्न जग्गा सम्याउने काम भइरहेको छ। कसले के प्रयोजनका लागि क्रसर स्थापना गर्न खोजेको हो भन्ने स्पष्ट नभएको वडाध्यक्ष रिम कटुवालले बताए। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.