काठमाडौं, असार २६: प्रधानमन्त्रीको सरकारी निवास भनिएको बालुवाटरमा पछिल्लो कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व सम्हालेपछि विशिष्टहरुलार्इ थुन्ने तथा संरक्षण प्रदान गर्ने ठाउँ बन्न थालेको छ।
किर्ति प्रकरणका दोषी मानिएका नवराज सिलवाललार्इ प्रहरीले संसारभर खोज्यो तर एक्कासी बालुवाटार झुल्किए । पछिल्लो समय नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति एक अन्तर्राष्ट्रिय सम्मेलनमा जान विमानस्थल पुगेका कुलप्रसाद कोइरालालार्इ प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरि बालुवाटारमा थुनियो।
क्यानडामा आयोजित संस्कृत सम्मवन्धि सम्मेलनमा जान लागेका कोइरालालाई असार २३ गते त्रिभुवन विमानस्थलबाट प्रधानमन्त्री कार्यालय ल्याइएको थियो।
यी त केही प्रतिनिधि तथा आम जनतामाझ छर्लङ्गै भएका केही उदाहरण हुन् । यसबाहेक कतिपय प्रहरीको फरार सूचीमा रहेका तथा हप्ता उठाउँदै गुजारा गर्ने टोले गुन्डाहरु पनि बेलाबेला बालुवाटारबाट निस्केका समाचारहरु सार्वजनिक हुने गरेका छन्।
सर्वसाधारणले सहज पहुँच नपाउने प्रधानमन्त्री निवास बालुवाटार विशिष्टहरुको थुनुवा कक्ष भएको त होइन भन्ने प्रश्न उठेको छ।
संसदमा सार्वजनिक महत्वको विषयमा बोल्दै नेपाली कांग्रेसका सासंद सञ्जय गौतमले प्रधानमन्त्री निवास बालुवाटारलाई कारगार बनाउन लागिएको हो भन्दै गौतमले प्रश्न गरे। ‘यो घटनाले सम्पूर्ण प्राज्ञिक क्षेत्रलाई लज्जित बनाएको छ’, उनले भने, ‘किन बालुवाटारलाई कारागार बनाउन खोजिँदैछ ?’
गौतमले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालामाथी गरिएको व्यवहारले प्राज्ञिक क्षेत्रलाई अपमानित गरेको बताए।