श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ

| 2018 Jul 10 | 06:30 am 3981

काठमाडौं, असार २६: सरकारले मजदुरको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसका आधारमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ हजार ४ सय ५५ रुपैयाँ अधारभूत पारिश्रमिक तथा ४ हजार ९ सय ९५ रुपैयाँ महँगी भत्ता गरी न्यूनतम पारिश्रमिक तोकेको हो ।

यसअघिको आधारभूत पारिश्रमिकमा २ हजार २५० रुपैयाँ (३६ दशमलव २६ प्रतिशत) र महँगी भत्ता १ हजार ५ सय रुपैयाँ (४२ दशमलव ९२ प्रतिशत) गरी ३ हजार ७५० रुपैयाँले बढेको छ । वृद्धि भएको न्यूनतम पारिश्रमिक देशभरका सबै क्षेत्रमा १ साउनदेखि अनिवार्य रुपमा लागू हुनेछ । तोकिएको न्युनतम पारिश्रमिक भन्दा कम पारिश्रमिकमा कसैले पनि काममा लगाउन नपाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताए ।

सरकारले यसपटकबाट दैनिक तथा प्रति घण्टाका हिसाबले समेत न्युनतम परिश्रमिक निर्धारण गरेको छ । यसअनुसार दैनिक ३ सय २५ रुपैयाँ आधारभूत तथा १ सय ९२ रुपैयाँ महंगी भत्ता गरी ५ सय १७ रुपैयाँ र प्रतिघण्टा ४३ रुपैयाँ आधारभूत तथा २६ रुपैयाँ महंगी भत्ता गरी ७९ रुपैयाँ न्युनतम् पारिश्रमिक तोकिएको छ । यसअघि ६ हजार २०५ रुपैयाँ आधारभूत तथा ३ हजार ४९५ रुपैयाँ महंगी भत्ता गरी श्रमिकको न्युनतम पारिश्रमिक ९ हजार ७ सय रुपैयाँ रहेको थियो ।

मन्त्रालयले ७ वैशाखमा सहसचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा श्रमिक र रोजगारदाता प्रतिनिधि सहितको त्रिपक्षीय सहभागिता रहेको न्युनतम पारिश्रमिक निर्धारण समिति गठन गरेको थियो । श्रम ऐनले उक्त समितिको सिफारिसमा श्रमिकको न्यनतम पारिश्रमिक तोक्ने अधिकार श्रम मन्त्रालयलाई दिएको छ ।

समितिमा श्रमिक प्रतिनिधिको रुपमा सहभागी रहेका नेपाल ट्रेड युनियन कांग्रेसले भने निर्धारित न्युनतम पारिश्रमिकमा आफ्नो असहमति रहेको बताएको छ । तर, श्रम मन्त्री गोकर्ण विष्टले समितिकै सिफारिसका आधारमा न्युनतम पारिश्रमिक निर्धारण गरिएको दाबी गरे ।

न्युनतम पारिश्रमिक निर्धारण सम्बन्धी निर्णय सार्वजनिक गर्न सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री विष्टले समितिमा न्युनतम पारिश्रमिक निर्धारण समितिको सहमति भएको विषय पुष्टि गर्न रोजगारदाता र ट्रेड युनियन प्रतिनिधिहरुलाई ‘ब्रिफिङ’ गर्न लगाएको खबर नयाँ पत्रिका दैनिकमा छ।

काँग्रेस निकट ट्रेड युनियनका प्रतिनिधिहरुले भने मन्त्रीले आफ्ना कार्यकर्ताबाट ‘ब्रिफिङ’ गराएर हुँदै नभएको सहमतिलाई पुष्टि गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएका थिए । जीवन धान्न सकिने गरी न्युनतम पारिश्रमिक १७ हजार रुपैयाँ निर्धारण गर्नुपर्ने आफूहरुको अडान कायमै रहेको नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यको भनाई छ ।

‘हामीले सबै श्रमिकको पारिश्रमिक न्युनतम ३ हजार ४५० रुपैयाँले बढ्ने सर्तमा मात्रै १३ हजार ४५० रुपैयाँमा सहमत हुन सकिने भनेका थियौँ,’ उनले भने, ‘तर, उल्टै सबै श्रमिकको न्युनतम पारिश्रमिक निर्धारण गर्नुपर्नेमा उद्योग क्षेत्रका श्रमिकको मात्रै तोक्ने काम भयो ।’

चिया क्षेत्रको कामको प्रकृति फरक तथा विशिष्ट किसिमको भएका कारण छुट्टै तोक्नुपर्ने अन्तरराष्ट्रिय अभ्यास छ। चिया बगानभीत्रै बसोबास, विद्यालयको सुविधा समेत दिइएको हुन्छ । कति चिया टिप्ने, त्यसआधारमा बोनसको व्यवस्था हुन्छ । चिया व्यवसायी र मजदूरहरुबीच सहमति जुट्न नसक्दा न्युनतम पारिश्रमिक तोक्न नसकिएको समितिका संयोजक रामप्रसाद घिमिरेले बताए। १ साउनदेखि लागु हुने न्युनतम पारिश्रमिक त्यस अगावै निर्धारण गरिने उनले स्पष्ट पारेका छन् ।

श्रमिकले पाउने अन्य सुविधा

-औषधोपचार बीमाः वार्षिक १ लाख रुपैयाँ बराबरको औषधोपचार बीमा

-दुर्घटना बीमाः ७ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा

-साप्ताहिक बिदाः प्रत्येक हप्ता पारिश्रमिक सहित १ दिन

-सार्वजनिक विदाः पारिश्रमिक सहित वार्षिक १४ दिन

-सट्टा विदाः साप्ताहिक वा सार्वजनिक विदाको दिन काम गरेबापत सोही बराबर सट्टा बिदा

-घर बिदाः काम गरेको प्रत्येक २० दिन बराबर १ दिन पारिश्रमिक सहितको बिदा

-बिरामी बिदाः वार्षिक १२ दिन पारिश्रमिक सहितको बिदा

-प्रसूति बिदाः गर्भवती महिलालाई ६० दिन पारिश्रमिक सहितको बिदा, श्रीमती सुत्केरी हुने पुरुष श्रमिकलाई पारिश्रमिक सहित १५ दिन

-किरिया बिदाः पारिश्रमिक सहित १३ दिन

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.