राजपा संसदीय दलको विधान टुंग्याउँदै

रिपोर्ट नेपाल | 2018 Jul 09 | 06:15 pm 3826

काठमाडौँ, २५ असार : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दल सम्बन्धी विधानलाई भोलि मंगलबार औंपचारिक रुपमा टुंग्याउने भएको छ । सिंहदरबारमा आज बसेको राजपा संसदीय दलको बैठकले विधानको मस्यौदा उपर छलफल गरी सांसदहरुको थप राय सुझाव लिएर विधानलाई पारित गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बैठकमा विधानको मस्यौदाबारे छलफल भएको र भोलि १२ बजेसम्म विधानबारे केही सुझाव भएमा पार्टीमा बुझाउन समय दिएको बताए । उनले भने – “समसामयिक राष्ट्रिय विषयमा पनि छलफल भयो । तर, औपचारिक निर्णय भने दलसम्बन्धी विधान, दलको नेता चयनलगायत सबै काम सात दिनभित्र सक्ने सहमति भएको छ ।”

राजपाले संसदीय दलको विधानलाई मंगलबार टुंगो लगाएर दलको नेता चयन गर्न निर्वाचनको मिति घोषणा गर्नेछ । आजको बैठकमा संघीय संसद्का दुबै सदनमा कसरी प्रस्तुत हुने भन्नेबारे प्रारम्भिक छलफल भएको र पुनः बैठक बसेर सोबारे निर्णय लिने नेता यादवले बताए ।

राजपाका प्रतिनिधिसभामा १७ र राष्ट्रिय सभामा दुई सांसद छन्। जम्मा १९ सांसदमध्ये एक रेशम चौधरीको मुद्दा नटुंगिएकाले उनले अहिले सांसदको हैसियतमा छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.