एक महिनाभित्र मिस्ट्रीखोलाबाट ४२ मेगावाट विद्युत उत्पादन गर्दै

रिपोर्ट नेपाल | 2020 Dec 21 | 08:02 am 1709

म्याग्दी, पुस ६ः जिल्लाको अन्नपूर्ण–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले अबको एक महिनाभित्र उत्पादन शुरु गर्ने तयारी गरेको छ ।

माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवर्धक रहेको मिस्ट्रीको बाँध, सुरुङ, क्यानल निर्माण, पेनस्टक पाइप र विद्युत्गृहमा उपकरण जडान सकिएको छ । निर्मित संरचना र जडान भएका उपकरणको परीक्षण शुरु गरिएको आयोजनाका परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले बताए ।

‘संरचना बनाउने र उपकरण जोड्ने काम सकिएको छ’, उनले भने, ‘बनाएका र जोडिएका संरचना ठीक भए नभएको परीक्षणको चरणमा छौं ।’ बाँधको यसअघिनै परीक्षण भइसकेको छ । सुरुङ, क्यानल र पेनस्टकको परीक्षणका लागि कार्यतालिका बनाइएको छ । त्यसपछि विद्युत गृहको परीक्षण गरिने इञ्जिनीयर खड्काले बताए ।

सन् २०१६ को जुन १३ मा शुरु भएको आयोजनाको दुई हजार २७०.५ मिटर सुरुङ २०७६ वैशाखमा जोडिएको थियो । नारच्याङको बेँसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युत गृह निर्माण गरिएको छ । नीलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाइएको छ ।

बेंसीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सवस्टेशनसम्म प्रसारण लाइन निर्माण भएको छ । एक सय १५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुुई वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाइएको छ । आउटलेटदेखि बाँधसम्म एक हजार ५०० मिटर दुई मिटर गोलाइको पेन स्टक पाइप जडान भएको छ ।

आगामी जनवरी १५ भित्र परीक्षण उत्पादन शुरु गर्ने लक्ष्य राखिएको आयोजनाका प्रतिनिधि चूडामणि निरौलाले बताए । ‘कार्यतालिकाअनुसार कुनै समस्या आएन भने जनवरी १५ भित्र परीक्षण उत्पादन हुन्छ’, उनले भने, ‘पूर्वाधार निर्माण सकेर परीक्षणको चरणमा छौं ।’ रु पाँच अर्ब ६४ करोड लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धकबाहेक नेपाल इन्भेष्टमेन्ट बैंकले रु ७० करोड, जलविद्युत् विकास कम्पनीले रु एक अर्ब र नेपाल बैंकले रु ५० करोड ऋण लगानी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.