काठमाडौं, पुस ४ः गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुरको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरेका हुन् ।
त्यसैगरी गृहकै पुण्यप्रसाद ढकाललाई पाँचथर प्रमुख जिल्ला अधिकारी, धनकुटाका केशवप्रसाद विमलीलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ ।
धनकुटामा बासुदेव दाहाल, गुल्मीमा रुद्रादेवी शर्मा, रामेछापमा अर्जुनकुमार शर्मा, भोजपुरमा कृष्णप्रसाद भण्डारी, डोल्पामा माधवप्रसाद ढकाल, सिराहामा कृष्णकुमार निरौला, खोटाङमा मित्रलाल शर्मा, मुगुमा चन्द्रबहादुर शिवाकोटी, र तेह्रथुममा जयराज भण्डारीलाई सरुवा गरिएको छ ।
महोत्तरीका प्रजिअ कृष्णबहादुर कटुवाललाई झुम्का कारागार सुनसरी, गुल्मीका प्रजिअ भरतकुमार शर्मा र तेह्रथुमका प्रजिअ विश्वराज न्यौपानेलाई गृह मन्त्रालय सरुवा गरिएको छ ।
डोल्पाका प्रजिअ सुरेश सुनारलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र भोजपुरका प्रजिअ बसन्तराज पुरीलाई इलाका प्रशासन कार्यालय, कटारी सरुवा गरेका छन् ।