धौलागिरी क्षेत्र विप्लप नेतृत्वको बन्दः जनजीवन प्रभावित

रिपोर्ट नेपाल | 2020 Dec 18 | 09:17 am 2284

म्याग्दी, पुस ३: थुनामा रहेका आफ्ना नेताको शंकास्पद मृत्यु बारे छानबिनको माग गर्दै सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाले शुक्रबार धौलागिरी क्षेत्र बन्द गराएको छ।

गत मंसिर २९ गते मृत्यु भएका विप्लप नेकपाको म्याग्दीका जनसरकार प्रमुख जगेन्द्र पुन (जगत) को मृत्युको घटना छानबिनको माग गर्दै आव्हान गरेको बन्दका कारण म्याग्दी, बागलुङ र पर्वतमा प्रभाव परेको हो। मुस्ताङमा भने बन्दको प्रभाव परेको छैन।

म्याग्दीको बेनीदेखि लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन, शैक्षिक संस्था र बजार बन्द भएको छ। विप्लपका कार्यकर्ताले व्यवसायी र शैक्षिक संस्थाका सञ्चालकहरुलाई फोन गरेर बन्द गराउन भनेका थिए।

अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला कारागार पर्वतमा थुनामा रहेकै अवस्थामा उच्च रक्तचापको कारण मंसिर २४ गते बेहोस भएका म्याग्दीको मालिका गाउँपालिका–३ अदिभाराका ५८ वर्षीय पुनको २९ गते पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो।

विप्लप नेकपाका धौलागिरी ब्यूरो प्रमुख राजनले विज्ञप्ति जारी गरेर समयमै उचित उपचार नगरिएको र बेवास्ता गरिएकाले आफ्ना नेताको मृत्यु भएकाले छानबिन गरेर दोषी पहिचान र कारबाहीको माग गरेका छन्।

पुनका आफन्तहरुले पनि प्रशासन र सुरक्षा निकायले नियमित र समयमै औषधी उपचारमा ध्यान नदिएको तथा लापरबाहीका कारण मृत्यु भएको बताउँदै शव बुझेका छैनन्।

उपचारमा बेवास्ता गरिएकोले छानबिनको माग गर्दै मानवअधिकार आयोगमा समेत आफन्तले निवेदन दिएका छन्। पटक पटक धरौटी मागेर छाड्ने र पुनः पक्राउ गरेर हैरान बनाएको, मानसिक यातना दिएको र उपचारमा लापरबाही गरेको छोरा हिमालले गुनासो गरेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.