सर्वोच्चकाे आदेशपछि चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह परीक्षा सञ्चालन हुने

| 2020 Dec 18 | 09:06 am 1841

काठमाडाैं, पुस ३ः सर्वोच्च अदालतले चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षा गर्न आदेश दिएपछि पुस १८ गतेदेखि परीक्षा सञ्चालन हुनेभएको छ ।

स्नातकोत्तर तहमा आरक्षणसम्बन्धी मुद्दा सर्वोच्च अदालतले बुधबार टुङ्ग्याएपछि चिकित्सा शिक्षा आयोगले परीक्षाको मिति तोकेको हो । परीक्षा सात महिना ढिलाइ हुँदा तयारी अवस्थामा रहेका विद्यार्थी अन्योलमा रहेको समाचार गोरखापत्रले मङ्सिर २० गते प्रकाशित गरेको थियो ।

चिकित्साशास्त्र स्नातकोत्तर तहमा अध्ययन गर्नका लागि आठ हजार चिकित्सक तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा छन् । गत जेठ महिनामा हुनुपर्ने स्नातकोत्तर तहको प्रवेश परीक्षा हालसम्म हुन सकेको थिएन ।

जेठ महिनामा हुने परीक्षा चिकित्सा शिक्षा आयोगले गत असोज २७, २८ र २९ गतेका लागि तय गरेको थियो । आयोगविरुद्ध विभिन्न मुद्दा अदालतमा परेपछि परीक्षा रोकिएको थियो ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा। श्रीकृष्ण गिरीले अदालतले परीक्षा गर्न आदेश दिएसँंगै पुस १८, १९ र २० गते परीक्षा सञ्चालन हुन लागेको जानकारी दिए । प्रा.डा. गिरीले स्नातकोत्तर तहको परीक्षामा अर्थोपेडिक, न्युरो सर्जरी लगायतका विषयमा परीक्षा लिइने बताए ।

यसअघि विदेशी विद्यार्थी भर्नाको विषय, चिकित्सा शिक्षा ऐनमा समानुपातिक कोटा नछुट्याएका कारण, सरकारी चिकित्सकले सरकारी सेवामा कार्यरत अस्थायी, करार र प्रतिष्ठान र विकास समितिमा कार्यरत चिकित्सक सरकारी चिकित्सकसरह मान्यता नदिन सर्वोच्चमा मुद्दा हालेका थिए । गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.