काठमाडाैं, पुस ३ः चीन सरकारको सहयोगमा अरनिको राजमार्गको सुधार हुने भएको छ । अरनिको राजमार्गको बाह्रबिसेदेखि तातोपानीसम्मको खण्ड सुधारका लागि चीन सरकारको प्रस्तावलाई नेपाल सरकारले अनुमति दिइसकेको छ ।
सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले भूकम्प र बाढीपहिरोबाट क्षतविक्षत भएको अरनिको राजमार्गको सो खण्ड चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा सुधार सुरु हुन लागेको जानकारी दिए । गत साता सहमति सहितको पत्र चीनलाई पठाइसकिएको उनले बताए ।
उनले भने, “सो राजमार्गको सुधारका लागि चीनले गरेको प्रस्ताव नेपालले स्वीकृत गरिसकेको छ, अबको एक महिनाभित्र चिनियाँ प्राविधिक टोली नेपाल आई काम सुरु गर्नेछन् । आठ करोड युआन (एक अर्ब ४४ करोड २० लाख रुपियाँ) लागतमा सो पुनर्निर्माण हुनेछ ।
चालीस फिटको कन्टेनर आवतजावत गर्न सक्ने गरी यो सडक खण्ड पुनर्निर्माण हुने उनले जानकारी दिए । आउँदो वर्षायाम सुरु हुनुअघि नै पुनर्निर्माणको काम सम्पन्न गर्ने गरी दुई मुलुकबीच सहमति भइसकेको छ ।
पुनर्निर्माणका क्रममा घुम्तीलाई फराकिलो बनाउनुका साथै भत्केका पर्खाल र कल्भर्ट निर्माण गरिने छ । पहिरो आउने गरेका ठाउँमा पर्खालसमेत निर्माण गरिने छ । सो सडक खण्डका ६० भन्दा बढी स्थानमा सडक क्षतिग्रस्त छ ।
उक्त राजमार्गको कोठे, लामोसाँघु बाह्रबिसे, खुर्सानीबारी, सिरिसे, खग्दोल, जम्बु, झ्याले, डाकलाङ्क, माथिल्लो भोटेकोसी ड्याम क्षेत्र, घट्टे खोलालगायत १५ स्थानमा पुल र सडकमा बढी समस्या रहेको थापाले बताए । अहिले यी ठाउँमा दुवैतर्फ गाडी आवतजावत गर्न मिल्दैन । पुनर्निर्माणपछि यी ठाउँमा ४० फिटको कन्टेनर सहज रूपमा आवतजावत गर्नेछन् । अहिलेको सो सडक साढे पाँच मिटर कालोपत्रेसहित छ मिटरभन्दा बढी छैन ।
गएको असोजमा सम्पन्न चिनियाँ राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणको क्रममा नेपालले अरनिको राजमार्गलाई डबल लेनमा स्तरोन्नति प्रस्ताव गरेको थियो । भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा दुवै पक्षबीच अरनिको राजमार्गलाई दीर्घकालीन रूपमा सुधार गर्दै लैजान सहमति पनि भएको थियो ।
सन् १९६० मा चीन सरकारको आर्थिक सहयोगमा यो राजमार्ग निर्माण गरिएको थियो । नेपाल–चीन जोड्ने यो पहिलो राजमार्ग हो । यसअघि २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको यो राजमार्ग चीन सरकारले मर्मतसम्भार गरी नेपाललाई हस्तान्तरण गरेको थियो । त्यसबेला काठमाडौँदेखि सिन्धुपाल्चोकको तातोपानीसम्म पाँच स्थानमा भूकम्पले क्षति भई यातायात अवरुद्ध बनेको थियो । चीनको सरकारी निर्माण कम्पनी चाइना रेल्वे सीसीजु ग्रुप कर्पोरेसनले सो राजमार्ग मर्मत गरेको थियो । गोरखापत्र दैनिकबाट