जाजरकाेट, मंसिर ३०ः सम्झौता मिति सकिन तीन महिना बाँकी रहँदासम्म मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डभित्र कालोपत्रको काम सुरु हुन सकेको छैन। कच्ची कटानको काम निरन्तर चलिरहेको भए पनि कालोपत्रको काम भने अहिलेसम्म सुरु हुन सकेको छैन।
तीस महिनाभित्र ३५ किलोमिटर सडकमा कालेपत्र सक्ने गरी शर्मा, सिंह एण्ड ब्रदर्स जेभी काठमाडौँले कामको जिम्मा लिएको थियो। कालोपत्रको काम नहुँदा धुलाम्मे भएर दैनिक यातायातका साधन मुस्किलका साथ सञ्चालन भइरहेका छन्।
सडकको सात मिटर चौडाइ बनाएर कालोपत्र गर्ने गरी सम्झौता भएको थियो। जेभीका प्रतिनिधि विश्वास उप्रेतीका अनुसार १७ किलोमिटरको दूरीमा रहेको कुदु–गिमासम्म एक भाग र गीमादेखि छेडागाड नगरपालिकाको कार्की गाउँसम्म १८.५ किलोमिटरको अर्को भाग बनाई एकैपटक काम सुरु गरिएको भए पनि अहिलेसम्म कालोपत्र गर्न नसकिएको हो। पहिलो चरणमा ४९ करोड २६ लाख रुपैयाँमा काम हुनेछ भने अर्को भागमा ५० करोड ४७ लाख रुपैयाँको काम भइरहेको छ। त्यस्तै कुदुबाट थलहसम्म एकै जेभीले ठेक्का पाएको छ। अहिले मन्ताभिरमा कडा चट्टान काट्ने काम भइहेको उप्रेतीको भनाइ छ।
सोभन्दा अगाडि दैलेखको सिमानासम्म ठेक्काको कच्ची काम भइरहेको छ। ५५ किलोमिटरभित्र चिसो कम हुनबित्तिकै कालोपत्रको काम शुरु हुने बताइएको छ। ३५ किलोमिटर सडकको ठेक्का लिएको मिति सकिन तीन महिना बाँकी छ भने अर्को खण्डको २४ महिना बाँकी छ। पाँचथरको चियाभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म एक हजार ७७६ किलोमिटर लम्बाइ रहेको मध्यपहाडी लोकमार्ग जाजरकोटमा ८२ किलोमिटर रहेको छ।