नेपाली सेनाका अधिकृत थापालाई बेलायतमा सम्मान

रिपोर्ट नेपाल | 2020 Dec 13 | 07:49 am 1596

काठमाडाैं, मंसिर २८ः नेपाली सेनाका एक अधिकृतलाई बेलायतमा एक अन्तराष्ट्रिय सम्मान दिइएको छ। धादिङ त्रिपुरासुन्दरी गाउँपालिका निवासी २१ वर्षीय पिटर थापा नेपाली सेनामा सेकेण्ड लेफ्टिनेन्टका रुपमा कार्यरत छन्।

बेलायतको स्याण्डहष्टस्थित सैनिक महाविद्यालयले यस वर्षको सर्वोत्कृष्ट घोषणा गरी थापालाई अन्तराष्ट्रिय ‘तरबार’ पुरस्कारस्वरुप प्रदान गरेको थियो। हरेक वर्ष विश्वका विभिन्न देशका सैनिक अधिकृतलाई बोलाएर वर्षभरि दिइने तालिममा अग्रथानमा आउने थापा नै नेपाली सेनातर्फबाट पहिलो अधिकृत छन्।

नेपालको सैनिक महाविद्यालयमा अधिकृत क्याडेट तालीमबाट सर्वोत्कृष्ट हुनेलाई सेकेण्ड लेफ्टिनेन्ट बनाई बेलायतमा हुने त्यस प्रकारको तालीममा पठाइन्छ। थापा दुई वर्षअघि मात्र नेपाली सेनामा भर्ती भएका थिए। सो सम्मान पाएसँगै उनी आवश्यक परे बेलायती सेनाका जवानलाई तालीम दिने प्रशिक्षकका रुपमा समेत योग्य भएका छन।

उक्त सम्मान तथा समापन कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी तथा अन्य कर्मचारीको समेत सहभागिता थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.