९ कक्षा पास गरेर अब बाबाको घरमा बसेर पढ्छु भन्दै आएकी समीक्षालाई ज्युँदै जलाएर मारे

| 2018 Jul 09 | 03:10 pm 4105

बुटवल,  २५ असार :  रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्वर ५ , पिपरचाँपाकी १६ वर्षिया किशोरी समीक्षा ठकुरीको जिउँदै जलाएर हत्या गरिएको छ । ठकुरीको आफ्नै वावुले मट्टितेल छरेर जलाउँदै हत्या गरेको घटना खुलासा भएको हो ।

असार १० गते बिहान करिब ३ बजेको समयमा शरिरमा आगो लागे पछि समिक्षालाई बुटवलको एक अस्पताल पछि पाल्पाको प्रभास अस्पताल र पछि किर्तिपुरको एक अस्पतालमा उपचारका लागि लगिएको थियो सोही क्रममा उनको असार २० गते मृत्यु भएको थियो ।

समीक्षा बुबा, हजुरवुवा-आमा , फुपू र सौतेनी आमाको छोरासँग बस्दैँ आएकी थिइन् । उनको सैतेनी आमा भने अहिले विदेशमा छिन् । घरमा परिवार भित्र उनको सम्बन्ध खासै राम्रो थिएन । यही क्रममा असार १० गते उनी घरमै जलेको अवस्थामा फेला परिन्। त्यसपछि बुटवल हुँदै विभिन्न अस्पतालमा उनलार्इ पुर्‍याईयो । तर उलार्इ बचाउन सकेनन् ।

समीक्षा स्थानीय पिसल्याण्ड भूपूसैनिक पब्लिक बोर्डिङ स्कुलमा १० कक्षा पढ्दै थिइन् । मावली घरमा बस्दै आएका उनी केही महिना अघि मात्र बाबुको घरमा आएकी थिइन् । समीक्षा जन्मिएको ९ महिना हुँदा उनका बुबाले दोस्रो बिहे गरेसँगै उनकी आमालाई कुटपिट गरेपछि आमा-छोरी माइत बस्न थालेको आमा माया थापाले बताइन् । समीक्षा बुबा तेजबहादुरले दोस्रो विवाह गरेपछि समीक्षाकी आमा मायाले सम्बन्ध विच्छेद गरेर हिडेकी थिइन्।

मृतककी आमा माया थापा ठकुरीले इलाका प्रहरी कार्यालय सालझण्डीमा शुक्रवार किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । मायाले मृतकका बुबा तेजबहादुर, हजुरआमा हरिकेला र फुपूहरू मधु ठकुरी थापा र अमृत ठकुरी थापाविरुद्ध किटानी जाहेरी दिएकी हुन् ।

‘घरमा बस्न थालेपछि कहिले कुटे, कहिले खान दिएनन् । कहिले स्कुलको फिस तिर्दिएनन् भनेर सधैँ रोएर फोन गर्थी’ समीक्षाकी आमा मायाले भनिन्, ‘घटना हुने दिन पनि बजारबाट साँझ फर्किँदा घर भित्र नपस् भनेर गालीगलौज गरेका रहेछन् ।’

मायाका अनुसार ९ कक्षा पास गरेपछि ‘मम्मी अब म बाबाको घरमा बसेर पढ्छु, तपाईँले मात्र खर्च धान्न सक्नुहुन्न’ भनेर समीक्षा बुवासँग बस्न थालेकी थिइन् । तर, परिवारका सदस्यले कुटपिट गर्ने, खाना खान नदिने, दुर्व्यवहार गर्ने र सौतेलो भाइले ज्यान मार्ने धम्की दिने गरेको स्थानीय अगुवा वम दर्लामीले बताए ।

‘समीक्षा हरेक विषयमा चासो राख्ने स्वभावकी थिइन्, उनले आमामाथि भएको हिंसा र अत्याचार बुझेकी थिइन्, जान्नेबुझ्ने भएपछि आमामाथि भएको हिंसा र अन्यायको बदला लिन घरमै बसेर लड्छु र अंश लिन्छु भन्न थालेपछि मार्ने योजना अनुसार मट्टितेल छर्केर आगो लगाइएको हो’ दर्लामीले भने ।

रुपन्देही प्रमुख श्याम ज्ञवालीले भने घटनाको प्रकृतिले हत्या जस्तो देखिएको तर, परिवार वा कसले भन्ने नसकिने बताए । उनले भने, ‘केही उपचारपछि धेरै कुरा आउन सक्छ भन्ने थियो तर, उनको मृत्यु भयो । तर, हामीले गम्भीर रूपमा लिरर अनुसन्धान गरिरहेका छौँ ।’

बुटवल इलाका प्रहरी प्रमुख डिएसपी डिलबहादुर मल्लले घटनाबारे गम्भीर छानबिन भई रहेको र छिट्टै सत्य तथ्य बाहिर ल्याने बताए । उनले भने–‘ ती किशोरी र परिवार बिच सम्बन्ध शौहार्दपुर्ण नभएको पाइएको छ । उनको मृत्युबारे अनुसन्धान भई रहेको छ अव छिट्टै सार्वजनिक गरिने छ । ’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.