तनहुँ, मंसिर २३ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ साबिक राईपुर गाविस ४ हाल कायम शुक्लागण्डकी नगरपालिका ११ का ४९ वर्षीय टोप बहादुर चन्द ठकुरी रहेका छन् ।
उनले २०४७ असोज ६ गते तनहुँ साबिक राईपुर गाविस ४ बस्ने भिम बहादुर परियारलाई दाउराको चिरपटले टाउको र संबेदनशिल भागमा प्रहार गरी कर्तव्य गरी हत्या गरी फरार रहेका थिए ।
उनी उपर सम्मानित तनहुँ जिल्ला अदालतबाट २०७२ साउन २८ गतेको फैसलाले सर्वश्च सहित जन्मकैद हुने गरी सजाय सुनाएकोमा प्रस्तुत मुद्दामा उच्च अदालत पोखराको मिति २०७४ असार १९ गतेको फैसलाले तनहुँ जिल्ला अदालतको फैसला दोहोर्याई १० बर्ष कैद सजाय हुने गरी फैसला भएकोमा पुन सर्वोच्च अदालत काठमाडौंकों मिति २०७५ कात्तिक १३ गतेको फैसलाले उच्च अदालतको फैसला नै सदर गरी १० बर्ष कैद सजाय सुनाएको थियो ।
उक्त तोकिएको कैद भुक्तान नगरी फरार रहेका निज टोप बहादुर चन्द ठकुरीलाई ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी निरीक्षक जगदिश रेग्मी समेतको टोलीले २०७७ मंसिर २२ गते बेलुकी काठमाडौं महानगरपालिका स्थितमा रहेको एक होटलमा लुकिछिपी बस्दै आएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष उपस्थित गराइएकोमा बाँकी कैद सजाय भुक्तानको लागी कारागार कार्यालय तनहुँ पठाइएको बताइएको छ।
साथै प्रस्तुत वारदातमा संलग्न गरी तोकिएको जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका ११ का ११ जना व्यक्तिहरुलाई समेत जनही ५० जरिवाना भुक्तानको लागी सम्मानित तनहुँ जिल्ला अदालतमा उपस्थित गराईएको तनहुँ प्रहरीले जनाएको छ ।