कुखुकराको मासु पोखेको भन्दै कार्कीको हत्या गरेको अभियोगमा दुई पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 09 | 07:09 am 3839

भक्तपुर, असार २५: चाँगुनारायण नगरपालिका–७ जितपुरका ३६ वर्षीय उमेश कार्कीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गत असार १५ गते राति कुखुराको मासु पोखिदिएको विषयमा भएको वादविवादका क्रममा धारिलो हतियार प्रयोग गरी कार्कीको हत्या गरेको अभियोगमा प्रहरीले सर्लाही हरिपुर नगरपालिका–८ जगतपुर घर भई हाल नेपाली सेनाको श्री नयाँ सबुज गण, सुर्खेतमा कार्यरत प्युठ ३५ वर्षीय रामसागर चौधरी र सर्लाही हरिपुर–७ घर भई हाल काठमाडौँ सानो भर्‍याङ बस्ने २९ वर्षीय गंगाराम चौधरीलाई पक्राउ गरेको हो।

रामसागरलाई उनकै घर सर्लाहीको जगतपुरबाट गत सोमबार र गंगारामलाई काठमाडौँ सानो भर्‍याङस्थित उनकै डेराबाट पक्राउ गरिएको महानगरिय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकृत एवम् प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा संलग्न तीनजना अझै फरार रहेका छन्। प्रहरीले उनीहरुको परिचय खुलाएको छैन ।

स्थानीय ३६ वर्षीय कार्कीको गत असार १५ गते राति चाँगुनारायण–८ जितपुरस्थित दिनेश खड्काको दोस्रो तल्लाको कोठामा शव फेला परेको थियो। अघिल्लो राति घर नआएका कार्कीको असार १६ गते बिहान खोजतलास गर्ने क्रममा खड्काको घरमा निर्मम तरिकाले हत्या गरेको अवस्थामा शव फेला परेको थियो । प्रहरीका अनुसार कार्कीको अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियार छुरा र फलामको रडले प्रहार गरिएको थियो ।

घटनास्थलबाट प्रहरीले टुप्पो भाँचिएको रगत लागेको स्टिलको बिँड भएको १० इन्च लम्बाइ भएको धारिलो चक्कु एक, एक फिट चार दशमलब पाँच इन्च लामो फलामको रड एक र रामसागर चौधरीले प्रयोग गर्ने पानासोनिक लेखेको मोबाइल एक थान बरामद गरिएको थियो।

प्रहरीका अनुसार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ घर भई हाल चाँगुनारायण नगरपालिका–८, हनुमानचोकमा धनबहादुर गहतराजले सञ्चालन गरेको न्यू दीपक ग्रिल उद्योगमा काम गर्ने राजेन्द्र चौधरीलगायत चारजना मजदुर स्थानीयवासी दिनेश खड्काको घरमा डेरा लिई बसेका थिए । राजेन्द्रको कोठामा रामसागर र गंगाराम बेलाबेलामा आउने र सँगै ग्रिलको कामसमेत गर्ने गर्दथे।

यही असार १५ गते पनि दिउँसो काम सकेर राति कुखुराको मासुसमेत ल्याएर मादक पदार्थ सेवन गरेर बसेको बेला राति करीब साढे आठ बजे उमेश पनि राजेन्द्रको कोठामा पुगेर मजदुरसँगै मादक पदार्थ सेवन गरेका थिए ।

त्यही क्रममा उत्पन्न सामान्य विवादमा उमेशले कुखुराको मासु पोखी दिएपछि त्यसैको रिसमा अन्धाधुन्ध रड र चक्कुले प्रहार गर्दा उमेशको मृत्यु भएको रामसागर र गंगारामले बयानका क्रममा बताएको प्रनाउ पोखरेलले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.