राजपाले संविधान संशोधनका लागि सरकारलाई दबाब दिने

रिपोर्ट नेपाल | 2018 Jul 09 | 07:06 am 2914

काठमाडौँ, असार २५: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधनका लागि सरकारलाई दबाब दिने भएको छ ।

राजपा अध्यक्ष मण्डलको आज बसेको बैठकले संविधान संशोधनका लागि सरकारलाई दबाबस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गर्ने निर्णय गरेको बुझिएको छ ।

यद्यपि, संविधान संशोधनबारे सरकारको ध्यानाकर्षणबारे आज छलफल भएपनि टुंगो नलागेको र भोलि सोमबार पुनः बस्ने अध्यक्ष मण्डलको बैठकले निर्णय गर्ने राजपा अध्यक्षमण्डलका सदस्य अनिल झाले राससलाई जानकारी दिए ।

उनले भने, “संविधान संशोधनको विषयमा छलफल भयो तर भोलि विमान संसदीय दलको बैठक बस्ने र लगत्तै अध्यक्षमण्डलको बैठकबाट निर्णय हुनसक्छ ।”

अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोले पनि संशोधनको विषयबारे भोलिको बैठकले निर्णय लिने बताए।

सरकारलाई समर्थन गरेको राजपाले समर्थन फिर्ता लिने या नलिनेबारे अनिर्णित छ । संविधान संशोधनको विषयको स्पष्टतापछि मात्रै राजपाले निर्णय लिने नेताहरुले बताएका छन् ।

बैठकले पछिल्लो संसदीय काम कारबाहीको समीक्षा गर्न सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ।

त्यसैगरी, राजपाले पार्टीको भ्रातृ संगठनहरुको नामाकरण गर्ने निर्णय गरेको छ । अध्यक्ष मण्डलका सदस्य अनिल झाका अनुसार भार्टीका सबै जनवर्गीय संगठनको अगाडि राष्ट्रिय र पछाडि संघ राखिनेछ ।

बैठकले प्रदेश २ मा सरकार सञ्चालनका लागि समन्वय गर्न समिति गठन गर्ने पनि निर्णय गरेको छ । संघीय समाजवादी फोरमसँग समन्वय गरेर चाँडै समिति गठन गरिने नेता झाले बताए। प्रदेश २ को नीति आयोगलाई पनि चाँडै पूर्णता दिने राजपाले उल्लेख गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.