विकट बस्तीमा सुविधासम्पन्न स्वास्थ्य भवन निर्माण

| 2020 Nov 24 | 09:11 am 1977

सिन्धुपाल्चोक, मंसिर ९ः स्वास्थ्य संस्थाको अभावमा रोग लुकाएर बस्न बाध्य सिन्धुपाल्चोकको दुर्गम काङलाङमा सुविधा सम्पन्न स्वास्थ्य संस्थाको निर्माण र स्वास्थ्यकर्मीको पनि व्यवस्था भएपछि गाउँमै रोग परिक्षण गर्न पाउँने भएपछि स्थानीय खुसी भएका छन् ।

नेपाल चीन सीमावर्ती भोटेकोशी गाउँपालिका–१ लिस्तीको काङलाङमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ । वागमती प्रदेशका उद्योग,पर्यटन वन तथा वातवरण मन्त्री अरुण नेपालको प्रदेश पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत १ करोड रुपियाँको लागतमा काङलाङ सामुदायिक स्वास्थ्य ईकाई भवन निर्माण सम्पन्न भएको हो ।

स्वास्थ्य चौकी निर्माण भएर स्थानीयलाई हस्तान्तरण भएपछि गाउँपालिकाले स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिदिएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । आफुहरुको विकट गाउँमा पनि मन्त्री नेपालको समन्वयमा स्वास्थ्य संस्थाको भवन र स्वास्थ्यकर्मीको व्यवस्था गरेपछि भवन उद्घाटनमा पुगेका मन्त्री नेपाललाई स्थानीयले भव्य स्वागत गरेका थिए । कोरोनाको त्रासका बिचमा पनि जम्मा भएको सयौ स्थानीयले मन्त्री नेपालले चुनावताका गरेको बाचा पुरा गरेकोमा धन्यवाद समेत दिएका थिए ।

तीन वर्ष अघि सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मत माग्न पुगेका उमेदवार नेपाललाई काङलाङबासीले आफुहरुलाई स्वास्थ्य चौकी भवन नहुँदा समस्या भएको र त्यसको निर्माण गरिदिन आग्रह गरेका थिए ।

गाउँमा नै स्वास्थ्य संस्था नहुँदा यस क्षेत्रका स्थानीय सामान्य उपचारका लागि पनि गाउँबाट टाढा रहेको लिस्तीकोट अथवा चाकू जानुपर्ने बाध्यता थियो । यो सँगैंकाङ्लाङवासीले स्वास्थ्य सेवा लिन चार घण्टाको पैदल हिड्नुपर्ने अवस्थाको अन्त्य भएको छ गाउँपालिका अध्यक्ष पौडेलले भने । स्वास्थ्य चौकीबाट गाउँवासीले घाउ जाँच, गर्भवती चेक, ओपिडी चेक, खोप सञ्चालन, गाउँघर क्लिनिकलगायत सेवा लिन पाउँनेछन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.