मन्त्री विष्टको ‘अंग्रजी’ नेकपाकै नेताको मिलेमतोमा म्यानपावर व्यवसायीले बनाए प्रचार सामग्री

रिपोर्ट नेपाल | 2018 Jul 09 | 06:42 am 3904

काठमाडौं, असार २५ : ओली सरकारमा गृहमन्त्री राम बहादुर थापा, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र श्रम मन्त्री गोकर्ण बिष्टले मात्रै सन्तोषजनक काम गरिरहेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको पद सम्हालेको छोटो समयमा नै विशिष्ट काम गरेर चर्चा कमाएका मन्त्रीमध्येकै हुन् गोकर्ण विष्ट।

उनले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगीधन्दालार्इ चौपट पारिदिएपछि उनका विरुद्धमा एक समूह नै सक्रिय छ। जसमा विष्ट सम्बद्ध नेपाल कम्युनिस्ट पार्टीका नेताहरु नै सक्रिय छन्।

नेकपाकै केही नेताहरुको लगानीमा सञ्चालित म्यानपावर व्यवसायको ठगीधन्दा बन्द हुने भएपछि एक समूह उनका विरद्ध नकारात्मक सन्देश फैलाउन र उनलार्इ जनताका नजरमा कमजोर सावित गर्न लागिरहेको छ।

अहिले मन्त्री बिष्टले विश्व श्रम संगठन(आईएलओ) को कार्यक्रममा जुन ४ मा जेनेभामा ‘अंग्रजी’ मा राखेको मन्तव्यलार्इ लिएर व्यापक आलोचना भइरहेको छ।

एक महिनाअघिको विषयलार्इ लिएर विषयवस्तुभन्दा पनि उच्चारणमा भएको केही कमजोरीलार्इ मुल विषय बनाइ आलोचना भइरहेको छ। अंग्रेजी उच्चारणमा केही त्रुटीहरु भएपनि त्यहाँ उनले महत्वपुर्ण विषय उठाएका छन्।

उनले उक्त कार्यक्रममा नेपालमा भएको महिला सशक्तिकरणको विषय र सन् २०१७ मा जारी भएको श्रम ऐनको विषयलार्इ उठाएका छन्। उनले श्रमिकहरुको हकहित तथा सामाजिक सुरक्षाको ग्यारेन्टी सरकारले लिने बताए। मन्त्री विष्टले सन् २०२५ सम्म सबै प्रकारका बालश्रमको अन्त्य गर्नेसमेत सभामा घोषणा गरे।

उनले उठाएका राष्ट्रहितका विषयलार्इ नै ओझेलमा पार्नेगरी उच्चारणमा भएको सामान्य त्रुटीलार्इ केन्द्रमा राखेर प्रचारबाजी शुरु भएको हो।

मन्त्री बिष्टले म्यानपावरको लुटतन्त्रविरुद्धको अभियान नरोक्ने स्पष्ट संकेत गरेपछि नेकपाकै नेताको मिलेमतोमा केही म्यानपावर व्यवसायीहरु बागबजारमा बिष्टका विरुद्ध के के गर्न सकिन्छ भनेर अनौपचारिक बैठक बसे । र बिष्टका विरुद्ध प्रोपागाण्डा मच्चाउने निर्णय गरेका थिए।

नेकपाकै नेताहरुको अग्रसरतामा बसेको सो बैठककै योजना अनुसार मन्त्री बिष्ट विरुद्ध प्रचार सामग्री खोज्न थालियो र जसअर्न्तगत उनको एक महिना अघिको मन्तव्यलार्इ अहिले केन्द्रमा राखिएको छ।

वास्तवमा मन्त्री बिष्टको विरोध गर्ने कुनै पनि अस्त्र फेला नपरेपछि उनको अंग्रेजी उच्चारणलाई प्रचारमा ल्याईएको हो। श्रोतले भन्यो, ‘मन्त्री बिष्टले सुधारको काम गरेपछि अत्तालिएका म्यानपावर व्यवसायीले केहि नेकपा कै नेताहरुकै अगुवाईमा भेला बसेर अंग्रेजी भाषण काण्ड उछालिएको हो।’

म्यानपावर व्यवसायी र केहि नेकपाकै नेताहरुले यति बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई मन्त्री बिष्टका कारण सरकारको बेईजत भएको भन्दै हटाउन लबिङ गरिरहेको पनि श्रोतले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.