कोरोना जोखिमबीच सप्तरीमा छठ पर्व सुरु

रिपोर्ट नेपाल | 2020 Nov 18 | 09:09 am 1982

सप्तरी, मंसिर ३ः कोरोना महामारीको त्रासका बीच हिन्दु धर्मावलम्बीहरुले लोक आस्थाको पर्व छठको सुरु गरेका छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाउँने चार दिवसीय छठ पर्व आज बुधबार नुहाई खाई बिधिवत सुरु भएको छ । छठ पर्व बिहीबार खरना, शुक्रबार सझिया घाट र शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको समापन हुनेछ ।

कोरोनाको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले छठ पर्वमा बढी भिडभाड नगर्न तथा घरमै मनाउन एक सूचनामार्फत सबैसँग अपिल समेत गरेको छ ।

यसका बाबजुद विभिन्न ठाउँका जलासयमा छठ पर्वका लागि सरसफाई, घाँट बनाउने र सजाइएको छ । बजारमा छठी मईयाको महिमा समेटिएको गित गुन्जिन थालेको छ भने छठ पर्व मनाउन स्थानियवासी आवश्यक सामाग्रि किन्न हटिया तथा बजारतर्फ भिड लागेका छन् । ग्रामीण क्षेत्रका बजारमा समेत चहलपहल निकै बढेको छ ।

विगतमा छठ घाट सरसफाईमा सेना र प्रहरी समेतले सघाउने गरेकोमा यस पल्ट भने त्यस्तो देखिएको छैन् । स्थानिय प्रशासनले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै भिडभाड नगरि घर परिवारमै छठ पर्व मनाउन निर्देशन र आग्रह गरेकाले यस पल्ट छठ घाट सरसफाईमा सुरक्षाकर्मी नखटेको एक सुरक्षा अधिकारीले बताए । तर, जलाशय किनारमै पर्व मनाउने भन्दै अधिकांश ब्रतालु आर्फ घाटको सरसफाई गरेका छन् ।

यसअघि दशैंमा पनि स्थानिय प्रशासनले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै शक्तिपीठहरुलाई निषेधित क्षेत्र घोषणा गर्ने, बलि प्रदानमा समेत रोक लगाउने निर्णय गरेको थियो । तर, स्थानीयको दबाब बढ्दै गएपछि अन्तिम क्षणमा सो निर्णयलाई खुकुलो बनाइएको थियो ।

सप्तरीका प्रमुख जलाशय कल्टु पोखरी, पूर्णी पोखरी, तुरन्ती पोखरी, सप्तकोशी नदी लगायत विभिन्न खोला तथा पोखरी र ताल तलैयाको किनारमा श्रद्धालुले सरसफाई र साजसजावट गरिएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.