कफीको न्यूनतम समर्थन मूल्य निर्धारण

रिपोर्ट नेपाल | 2020 Nov 18 | 08:47 am 3173

काठमाडौं, मंसिर ३: सरकारले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले स्वदेशमा उत्पादन हुने फ्रेस र तयारी कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो।

बोर्डले कफी उत्पादन गर्न लाग्ने लागत खर्चमा २२.५ प्रतिशत  नाफा जोडेर मूल्य तोकिएको जनाएको छ। बोर्डले चेरी (ताजा फल) तर्फ ए ग्रेडलाई प्रतिकिलो ९० र बी ग्रेडलाई ८० रुपैयाँ तोकेको छ।

पार्चमेन्ट प्रशोधित कफीतर्फ ए ग्रेडलाई प्रतिकिलो ४ सय ५० र बी ग्रेडलाई ३ सय ९७ रुपैयाँ तोकिएको छ। प्रशोधन गर्न नसकिएको बी ग्रेडको कफीलाई प्रतिकिलो १ सय ४८ र बी ग्रेडको कफीको मूल्य ९५ रुपैयाँ तोकिएको छ। ए ग्रेडको चेरीको मूल्य अघिल्लो वर्षभन्दा प्रतिकिलो ५ र प्रशोधित ए ग्रेडको कफीको मूल्य गत वर्षको तुलनामा २५ रुपैयाँ वृद्धि गरिएको छ। नेपालमा ४३ जिल्लामा कफी खेती हुन्छ। अधिकांश क्षेत्रफलमा अरेबीका जातको कफी उत्पादन हुन्छ।

बोर्डका अनुसार गत वर्ष नेपालमा ११ करोड ८८ लाख रुपैयाँबराबरको २ सय ६६ टन कफी आयात भएको थियो। यस्तै नेपालबाट ५ करोड ७७ लाख रुपैयाँबराबरको ४६.८९ टन कफी निर्यात भएको थियो। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.