दुई दिन लगातार हिमपात हुँदा हुम्लामा चिसाे बढ्याे

रिपोर्ट नेपाल | 2020 Nov 17 | 08:11 am 1930

हुम्ला, मंसिर २ः लगातार दुई दिनसम्म हिमपात हुँदा हुम्लामा चिसो ह्वात्तै बढेको छ । जिल्लामा दोस्रोपटक पनि हिमपात भइसकेकाे छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो ।

जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीय राजबहादुर बोहराले बताए । बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ ।

मानिसहरु हिउँमा रमाउन थालेका छन् । आइतबार बिहानै हिमपात हुँदा किसान खुशी भएका थिए । जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् । सोमबार बिहानै हिमपात भएपछि किसानमा खुशीयाली छाएको स्थानीय कमल भण्डारीले बताए ।

लामो समय पानी नपरेकाले जमिन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला यो हिमपातले त्यसलाई सहज बनाउने भण्डारीले बताए ।

साेमबार बिहानदेखि हुम्लाको मौसम सफा रहेको भए पनि हिमालहरु हिउँले सेताम्मे हुनुका साथै चिसो बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.