झापा, कात्तिक २७ः मेचीपारिको टापु भनेर वर्षौंयताबाट परिचित गाउँ मेचीनदीमा झोलुङ्गे पुल सञ्चालनमा आएपछि सो बस्तीका बासिन्दालाई राहत भएको छ । वर्षायामको समयमा मेचीनदीमा आएको बाढीका कारण नेपाली भए पनि सबै भारतका बजारमा निर्भर हुने गरेका थिए । अत्यावश्यक कामका लागि डुङ्गाको सहायताले सदरमुकाम आउनबाहेक अन्यले आँट गर्न सकेका थिएनन् ।
केही महिनायताबाट पुल सञ्चालनमा आएपछि भद्रपुर–३ महेशपुरमा रहेको सो बस्तीका जनता खुसी देखिएका छन् । हाल झोलुङ्गे पुल पार गर्नेबित्तिकै एउटा बजार लाग्न थालेको छ । मेचीवारि भचक बस्तीका भरत राजवंशीको जग्गामा हाल मेचीवारि र पारिका स्थानीयले अस्थायी टहरा निर्माण गरेर होटल, खाद्य सामग्री, माछा मासु पसल, फास्ट फुडलगायतका सेवा सञ्चालनमा ल्याएका छन् ।
पुल निर्माणपश्चात् हालसम्म सुरक्षा चुनौती नदेखिएको सशस्त्र प्रहरी बल गण नम्बर २ का एसपी रमेशकुमार पाण्डेले बताए । सशस्त्र प्रहरी नभएका कारण भारततर्फको केही त्रास भए पनि पोस्ट स्थापनाका लागि स्थानीयले जग्गा दिएर भरपुर सहयोग पाइरहेको उनको भनाइ छ । हाल आन्तरिक पर्यटनमा चहलपहल देखिएको उनले बताए।
परियोजना हालसम्म नगरपालिकामा हस्तान्तरण भइनसकेको भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए । उक्त ठाउँमा फोटो खिच्नेको भिडभाड बढेकोले आन्तरिक पर्यटन बढ्दै गएको उनको भनाइ छ । नेपाल समाचारपत्रबाट