काठमाडौं, कात्तिक २५ः काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको दृष्टिले थप जोखिम बन्दै गएको छ । उपत्यकामा दिन प्रतिदिन संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।
कोरोना भाइरस संक्रमितको संख्या उपत्यकामा ९० हजार नाघेको छ । हालसम्म काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ९० हजार १ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । मुख्यतः बाक्लो बस्ती, भौतिक दुरी कायम नहुनु, कन्ट्याक्क्ट ट्रेसिङ पर्याप्त नहुनुलगायतका कारण जोखिम बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले व्यक्ति व्यक्तिबीचको भौतिक दूरी कायम हुनै छाडेको बताए । उनले भने, जोखिम झन् बढ्दै छ । तर, भौतिक दूरी कायम हुन सकेको छैन । किनबेचदेखि यात्रा गर्दा पनि हेलचेक्य्राई गरिएको देख्न सकिन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७३ हजार २ सय ३, ललितपुरमा १० हजार ३ सय ५४ र भक्तपुरमा ६ हजार ५ सय ९८ संक्रमित भएका छन् । सोमबार काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार देशभर २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजधानी दैनिकबाट