पार्टी जोगाउन मिलेर अघि बढ्न ओलीको प्रस्ताव

रिपोर्ट नेपाल | 2020 Nov 09 | 08:16 am 2278

काठमाडौं, कात्तिक २४ः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटबाट जोगाउन सहकार्य गरेर अघि बढ्न वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रस्ताव गरेका छन् । ओली र नेपालको सम्बन्ध चिसिँदै आइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले नै सम्बन्ध सुधारेर अघि बढ्न प्रस्ताव गरेका हुन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालसँगको मतभेद बढिरहेको समयमा प्रधानमन्त्री ओलीले पार्टीभित्र बहुमत जुटाउन वरिष्ठ नेता नेपालसँग सहकार्यको प्रस्ताव गरेका हुन् । ओलीले सहकार्यका लागि नेपाललाई प्रस्ताव गरे पनि सहमति हुन सकिरहेको छैन ।

अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सामूहिक रूपमा अध्यक्ष ओलीसँग भेटेर शनिबार लिखित रूपमै सचिवालय बैठक बस्नुपर्ने आग्रह गरेको भोलिपल्ट (आइतबार) ओली र नेपालबीच छलफल भएको छ ।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच तीन घण्टा लामो छलफल भएको छ । छलफलका लागि ओलीले नेपाललाई एक्लै बोलाए पनि उनी आफू निकटका स्थायी कमिटी सदस्यत्रय भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई सँगै लिएर बालुवाटार पुगेका थिए ।

छलफलमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएको विवाद समाधान गर्न वरिष्ठ नेता नेपालाई मिलेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेका हुन् । पार्टी एकताका बाँकी काम टुंगो लगाउने, पार्टी र सरकार सञ्चालनका साथै हाल देखिएको विवाद समाधानका लागि मिलेर अगाडि बढ्नुको विकल्प नभएको ओलीको भनाइ थियो । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.