खोई हाम्रा ऐतिहासिक सम्पदा र संस्कृतिको संरक्षण ?

रिपोर्ट नेपाल | 2020 Nov 06 | 02:01 pm 4667

  • बसन्त भुजेल

आदिगुरु शंकराचार्यले बाराणसीको भ्रमण पछि भनेका थिए–‘पवित्र मुक्ति क्षेत्र हुँदै शालिग्रामयुक्त जलप्रवाह गर्ने कालीनदीको पानीकै कारण गंगा यति पवित्र भएको हो ।’ कालीगण्डकी स्थान गर्न धेरै टाढा र दुर्गम समेत भएकोले भारतीय हिन्दूहरुले वाराणसीलाई नै तीर्थस्थलका रुपमा विकास गरेको कुरा आदिगुरु शंकराचार्यको यो भनाईले पुष्टि गर्छ । भगवान विष्णुको प्रतिक मानिने शालिग्राम कालिगण्डकी बाहेक विश्वका कुनै पनि नदीमा पाइँदैन । पौराणिक ग्रन्थहरुमा कालिगण्डकी नदीको ठूलो महिमा छ । कालीगण्डकी नदीकिनारमा असंख्य तीर्थस्थलहरु छन् । कालिगण्डकी किनारका असंख्य तीर्थस्थलमध्ये यस आलेखमा रुरु क्षेत्रको छोटो चर्चा गर्ने प्रयास गरिएको छ । यसको चर्चा रानीमहलबाटै सुरु गरौं । तत्कालिन राणा शासकहरुले काठमाडौं पछिको दोस्रो बसाई स्थल रुरु क्षेत्र नै किन रोजे त ? भन्ने तर्क पनि कम महत्वपूर्ण छैन ।

रानीमहल
आफ्नै काका रणोदीप सिंह तथा राणा शासनका प्रवर्धक जंगबहादुर राणाका छोरा–नातीहरुलाई धीरशमशेरका १७ भाई छोराहरुले कत्लेआम गरे । जसलाई १९४२ साल पर्वको नामले चिनिन्छ । कत्लेआमपछि जेठा वीरशमशेर श्री ३ बने । माहिला खड्गशमशेर कमाण्डर इनचिफ बने । तर १८ महिनामै वीरशमशेरले खड्गशमशेरलाई पदमुक्त गरी पाल्पा निर्वासित गराए । १९४५ मा उनलाई रुपन्देही, कपिलवस्तु, पर्वत, वाग्लुङ लगायतको जिम्मेवारीका साथ पाल्पा गौडाको पश्चिम जनरल इनचिफका रुपमा बस्ने अनुमति दिइयो ।

आफ्नी कान्छी रानी तेजकुमारीको निधन पछि प्रेमको प्रतिक स्वरुप आज भन्दा १ सय २० वर्ष अघि तत्कालिन जनरल खड्ग शमशेरले रुरु क्षेत्र नजिकै कालिगण्डकी किनारमा अत्यन्त सुन्दर कलात्मक दरबार बनाए । जसलाई रानीमहल अर्थात नेपालकोताजमहल भनिन्छ । वि सं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको रानी महल नेपालको महत्वपूर्ण सम्पदा हो । तर, यो सम्पदा अहिले संकटमा छ । नेपाल एकीकरणपछि शासकहरुले राजधानी काठमाडौं बाहिर निर्माण गरेका भौतिक संरचनाहरुमध्ये रानीमहल नै सबै भन्दा भव्य हो ।

११ रोपनी क्षेत्रफलमा फैलिएको महलमा २४ वटा कोठा छन् । महल परिसरमा बगैंचा, शिवालय, पानीपोखरी, शिबलिङ्गमा नाग–नागिनीले जल शेचनको दृश्य, भान्सा घर, घोडा बाध्ने तबेला ठूला घण्टसहितको आकर्षक कलाकृति देख्न सकिन्छ । दरवारकै सिँढीबाट कालीनदीमा पुग्ने गरी कालीगण्डकीबाटै जग उठाएर दरवारको निर्माण गरिएको छ । पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गंगाका दुई मन्दिर छन् ।

रिडीसम्म दक्षिण बगेको कालिनदी त्यहाँ आइपुगेपछि केही किलोमिटर पूर्व बगेर जब उत्तर तर्फ बग्न थाल्छ त्यसैको दाहिने किनारमा छ –‘रानीमहल । हिमाली क्षेत्रका नदीहरु जब उत्तर बग्छन् त्यहाँ तेत्तिसकोटी देवताहरुको बास हुन्छ भन्ने कुरा हिमवत् पुराणमा उल्लेख गरिएको छ । सक्कली गया यही नै भएको विद्धानहरु बताउँछन् । रानीमहल बनाउने स्थलका रुपमा खड्गशमशेरले यही ठाउँ रोज्नु संयोग मात्रै होइन ।

‘प्रेमको प्रतिक’ रानीमहल नेपालको ऐतिहासिक पर्यटकीय सम्पदा हो भन्ने कुरामा दुईमत छैन । कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि रहेको नेपालको ताजमहलको रुपमा चिनिएको रानी महल दुई पहराको बिचमा छ । माथितिरबाट पहिरोले घेरिएको छ भने तल कालीगण्डकीले च्याप्दै लगेको छ । माथिबाट पहिरो र तलबाट बाढीले लैजाने खतरामा परेको छ रानीमहल । तर, सरकारले संरक्षणको लागि ठोस कदम अघि सारेको छैन ।

धार्मिक मात्रै होइन प्राकृतिक हिसाबले रमणिय स्थानमा रहेको रानीमहल तानसेनको उत्तरमा रहको छ । यो महल पुग्न तानसेनबाट १४ किलोमिटर सडक मार्गको कठिन यात्रा तय गर्नुपर्छ । कच्ची सडक मार्ग रहेको उक्त सडक अहिले कालोपत्रे गर्ने र फराकिलो बनाउने कार्य भइरहेको छ । यस अघि सात किलो मिटर कालोपत्रे र सात किलो मिटर कच्ची सडक भएका कारण महल पुग्न ठुलै संघर्ष गर्नुपथ्र्यो । सडकमार्गमा सवारी साधन ठेलेर लानु पर्ने, पानी परेको बेला हिलाम्मे र घाम लागेको बेला धुलाम्य सडक पार गर्नु पर्ने वाध्यतालाई अबका ६ महिनापछि सुविधायुक्त सडक देख्न पाइने छ । यो पंतिकार २०७७ कात्तिकमा पुग्दा बस्नका लागि होटल लजहरु थिएनन् । महल पुग्न कठिन नै भए पनि आन्तरिक पर्यटकहरुको भिड लाग्ने गरेको पनि देखियो । कोरोना महामारीका कारण बन्द रहेको महल हेर्न आन्तरिक पर्यटकको घुइचो लागेको पनि यो पंतिकारले देख्न पायो । रानीमहल पुगेर मायालु जोडीहरुले संगै बाँच्ने र मर्ने कसम खान्छन् । साथै सुन्दरता मज्जा लिन्छन् ।

रानी महल आफैमा सुन्दर ठाउँमा रहेको छ । उत्तर तर्फ बगिरहेको काली गण्डकी, उत्तर तिरै फर्किएको ऐतिहासिक दरवारले सबैको मन लोभ्याउछ । नदी तिरमा बसेर हावामा कावा खाँदै रमाउने जोडीहरु प्रशस्तै भेटिन्छन् । कालिगण्डकीको किनारमा रहेको यो महलमा पुग्दा आनन्दको अनुभुति हुन्छ । तर महल भने प्राकृतिक रुपमै संकटमा छ । महलको भित्ताहरुमा झार उम्रिएर लथालिङ्ग छ । कालीगण्डकी करिडोर अन्तर्गत उत्तर–दक्षिण लोकमार्गको बौघागुम्हा छेर्लुङ् रानीमहल हुँदै सडक निर्माणपछि करिडोरको बाटो खन्दा अहिले रानीमहलको दुवै छेउमा भंगालो छ । सडक खनेपछि रानीमहलको वरपर पहिरो झरे जस्तै भएको छ ।

मुलुक संघीयतामा गएपछि तीन तहका सरकार रहे पनि पछिल्लो समय रानीमहल संरक्षणमा कसैले पनि चासो दिएको देखिँदैन । ऐतिहासिक धरोहर तथा सम्पदाहरुको जिर्णोद्वार तथा संरक्षणको जिम्मेवारी पुरातत्व विभागको रहे पनि रानीमहलको संरक्षणमा विभागले खासै ध्यान दिएको देखिँदैन । २०६५ सालमा विभागले दरबारको मुख्य भागको मर्मत गरे पनि निरन्तरता र संरक्षणको अभावले दरबारको हविगत पुरानै अवस्थामा पुगेको छ ।

दरबारको उचित संरक्षण र सुरक्षाको अभावमा यहाँका महत्वपूर्ण र बहुमुल्यका वस्तुहरु समेत क्रमशः हराउँदै गइरहेका छन् । २०६३ सालमा रानीमहल परिसरमा रहेका विभिन्न देवालय तथा मन्दिरहरुको बहुमूल्य तामाको छानाहरु समेत चोरी भएको जानकारी दरबारको सूचना बोर्डमै उल्लेख छ । उचित संरक्षणकै अभावमा रानीमहल दरबारको संरचनाहरु बिग्रदै गएका छन् । दरबारका भित्ताहरु टुट्ने–फुट्नेदेखि ढुसी–लेउले बिग्रने र कुरुप देखिन थालेका छन् । त्यसो त दरबार संरक्षण तथा सुरक्षामा सहयोग पुर्याउने भन्दै करिव दर्जन संख्याका संघसंस्था तथा निकायहरु क्रियाशील रहेको बताइएको छ ।

पहिलो पटक जिर्णोद्धार
२०७३ सालमा पहिलो पटक रानीमहलको जिर्णोद्धार भएको थियो । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, पुरातत्व विभागको रोहबरमा रानीमहल दरबारको जिर्णोद्धार भएको हो । विभागले कुल २ करोड ७२ लाख ३७ हजार २ सय ४७ रुपैयाँ लागतमा जिर्णोद्धार गरेको हो । जिर्णोद्धारमा ३ करोड ७ लाख ७८ हजार ८९ रुपैयाँ ३४ पैसा खर्च भएको दरबारको सूचना बोर्डमा उल्लेख छ । तर उचित संरक्षण र रेखदेख नहुँदा दरबार पुरानै अवस्थामा फर्किदै छ ।

दरवार परिसरमा राखिएको सूचना बोर्डमा भनिएको छ –‘२०६५ सालमा पुरातत्व विभागले दरबारका मुख्यभागको मर्मत गरेपनि निरन्तरता र संरक्षणको अभावले पुरानै अवस्थामा पुगेको र २०६६ भाद्रमा दरवार परिसरको मन्दीरको तामाको छाना चोर्दै गर्दा समाजसेवी शासन क्लव रानीमहल संरक्षण समिति र स्थानीयवासीहरुको सहयोगमा चोरी गर्नेहरुलाई पक्री जिप्रका पाल्पामा बुझाइएको थियो । जिप्रका पाल्पाको आर्थिक सहयोगमा रानीमहल परिसर गेट निर्माण र खानेपानी ल्याउने काम रानीमहल संरक्ष्ण समितिको सक्रीयतामा भएको हो ।

२०६७ मा पर्यटन कार्यालय भैरहवाको आर्थिक सहयोगबाट दरवारको माथिल्लो भाग पूर्ण रुपमा मर्मतगरी रेखदेख गर्ने काम क्लवद्धारा गरिएको । २०६८ मा जिविस पाल्पा र भुसंरक्षण कार्यालय भैरहवा जस्ता निकायको सहयोगमा संरक्षण तथा मर्मत कार्य भएको र पाल्पा स्थित नेपाली सेनाले दरवार अगाडि पट्टीको तटवन्ध, बगैंचा निर्माण र पटक पटक सरसफाइको कार्यगरेको । साथै संरक्षण र सम्वर्धनको लागि नेपाली सेना श्री गोरखदल गणले समेत निरन्तरता दिइरहेको छ ।

रुरु क्षेत्र
नजिकको तीर्थ हेला भनेझैं, पाल्पाका राजा मणिमुकुन्द सेनलाई सपनामा देखिएको साश्वत शीला तथा ऋषिकेशको मूर्ती कालिगण्डकी किनारमा यद्यपी छँदैछ । भारतीय तीर्थयात्रीहरु यसको खोजीखोजी दर्शन गर्न आउँछन् । तर ‘परको सिंह, वरको गिद्ध’ भनेझै कतिपय नेपालीहरुलाई थाहा नहुन सक्छ । ऋषिकेशको मन्दीर बनाई जोगाउनमा राजा मणिमुकुन्द सेनको ठूलो भूमिका छ । यहाँ माघे सक्रान्तिमा नुहाउन आउनेहरु नेपाली भन्दा भारतीयहरु धेरै हुन्छन् । ऋषिकेशको महिमा भारतीयहरुलाई धेरै थाहा छ । विशेष गरी रुरु क्षेत्र तथा रेसुंगाको महत्व के हो भन्ने कुरा भारतीयहरुलाई धेरै थाहा छ । नेपालकै चारधाममध्ये पर्ने ऐतिहासिक धार्मिक रुरुधाम क्षेत्र ओझेलमा परेको छ ।

पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थलका रुपमा रहेको पवित्र कालीगण्डकीको किनारमा अवस्थित रुरु क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व अपार रहे पनि सो क्षेत्र ओझेलमा परेको छ । पाल्पा सदरमुकाम तानसेनदेखि झण्डै ३० किलोमिटर पश्चिममा रहेको रुरु क्षेत्र पौराणिक मान्यताअनुसार रुरु कन्याले तपस्या गरी ऋषिकेशलाई सधैँका लागि त्यस स्थानमा बस्न बाध्य बनाएको भन्ने कथन रहेको छ । यस रुरु क्षेत्रमा कालीगण्डकी किनार नजिकै पुरानो ऋषिकेश मन्दिर छ । उक्त मन्दिर यहाँ रहेकाले पनि यसको महिमा र धार्मिक महत्व बढेको हो ।

रुरु क्षेत्रमा ऋषिकेश मन्दिर परिसरमा विभिन्न देवीदेवताका मूर्तिसमेत रहेका छन् । यहाँ माघे सक्रान्ति वैशाख सक्रान्ति, ठूली एकादशीलगायतका पर्वमा नदीमा स्नान गर्नेको घुइँचो लाग्छ । शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकी भएकाले पनि रुरु क्षेत्रको धार्मिक महत्व अझ बढेको हो ।

तपोभूमी रेसुङ्गा
तपोभूमि रेसुङ्गालाई जिवित राख्नुमा ड्ठ्ठिा रुद्र भुजेलको ठूलो योगदान छ । झण्डै ३० वर्ष सम्म दिनरात नभनी निरन्तर लागि परेर उनले यस क्षेत्रमा धेरै काम गरे । रेसुङ्गा शिवालय , रेसुङ्गा कुण्ड, गौशाला , भ्युटावर लगायत धेरै संरचना बनेका छन् । पुराना मठहरको जिर्णोद्धार गरिएको छ । हाल रेसुङ्गा तपोभूमी मात्र नभई यस क्षेत्रको मुख्य पर्यटकीय गन्तव्य पनि भएको छ । यस क्षेत्रमा अतिथिगृह समेत बनेको छ । कुण्ड तथा शिवालयसम्म सडक पुगेको छ भने, त्यहाँ बाट तपोभूमीसम्म जानका लागि दुवैतिर रेलिङराखेर ढुंगाको मनमोहक सिडी बनाइएको छ । भ्यु टावरबाट आँखाले भ्याउन्जेल देखिने हिमालदेखि तराई सम्मका दृश्य मनमोहक छन् । रेसुङ्गामा पाइने दुर्लभ वन्य जन्तु बाघ, रेडपाण्डा, रातो मृग, घोरलले मन रमणीय बनाउँछ । दुर्लभ चरा चुरुंगी तथा कालिज पनि यस क्षेत्रमा पाइन्छन् । झण्डै ५६ किसिमका जडिबुटी पनि यस पर्वतमा पाइन्छ ।

खासगरी २०४६ सालको परिवर्तनपछि रेसुङ्गा क्षेत्रमा जुन किसिमले विकास हुनुपर्ने थियो त्यो नभएपनि थालनी भने भएको छ । माल पाएर चाल नपाएका नेताहरुलाई रेसुङ्गा तपोभूमिको महत्व अवगत गराउन धेरै प्रयास गरियो । त्यो प्रयास व्यर्थ भयो । साँच्चै निदाएको मान्छेलाई व्युँझाउन सजिलो छ, तर निदाएको बहाना गर्नेलाई व्युँझाउन सकिँदो रहेनछ । कहिलेवुद्धि पलाउला यि नेताहरुको ?

हाम्रा पुर्खाहरुको भिजनलाई निरन्तरता दिनसके मात्रै पुग्छ । भावि पीडिले कसको कुवुद्धिमा लागेर हाम्रा सम्पत्ति आगो लगाउने । बमले ध्वस्त गर्ने धृष्टतामा संलग्नछन् । आफुलाई ठूला नेता भन्नेहरुले एउटा ढुङ्गा लगाउन त कता कता भएका ऐतिहासिक सम्पदा पनि समाप्त पार्न लागि परेका छन् । सोभियत संघका लेलिन र स्टालिनको ह्याङओभरले अझै छाडेको छैन ।

बाँदरले आफुले पनि घर बनाउँदैन, अरुले बनाएको पनि भत्काउँछ भने जस्तै । हाम्रा नेताहरु पनि बाँदर भन्दा फरक भएनन् । कस्ता कुपुत्रको जन्म भएछ नेपालमा ? बनाउन होइन भत्काउन मात्रै लालयित हुन । यस्ता नेताबाट भावि पुस्ताले के सिक्ने ?

देश भन्दा पनि आफ्नो पार्टी महत्वपूर्ण ठान्ने सँग केही लाग्दो रहेनछ । राज्यलाई लुटेर आफ्नो सम्पत्ति बढाउने बाहेक नेताहरुमा कुनै चिन्तन देखिएन र रेसुङ्गा, रिडि, पाल्पा, रानीमहल, लुम्विनी, दाङको संस्कृत विश्वविद्यालयलाई विश्व सम्पदा सूचिमा राख्न सकेमा विश्वभरीकै पर्यटक आउने थिए ।

ऐतिहासिक नुवाकोट दरवार चीन सरकारको सहयोगमा संरक्षण हुन लागेको समाचारले खुशी सँगै दुख पनि लागेको छ । नेपालका नेताहरु बम पड्काएर ध्वस्त पार्न कसिन्छन्, चीनले बनाइ दिनु पर्छ । हामी वीर गोर्खाली, तर अहिले काट्ने मार्ने, भत्काउने विगार्नेमा तल्लीन भयौं । हाम्रासम्पदा जोगाउन विदेशीहरु आउनु पर्ने भयो । कति ठूलो दुर्भाग्य ?

(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.