भानुको जन्मस्थल चुँदीरम्घामा ‘रामायण घर’ बन्दै

रिपोर्ट नेपाल | 2018 Jul 08 | 10:06 am 3750

तनहुँ, असार २४: राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका– ४ शिखरकटेरीमा रामायण घरको निर्माणकार्य तीव्र पारिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु तीन करोडको लागतमा सो घर निर्माण हुन लागेको हो । भानु जन्मस्थल विकास समितिको सक्रियतामा निर्माण कार्य भइरहेको हो। हालसम्म ८० प्रतिशत निर्माण कार्य पूरा भएको भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए।

निर्देशक रानाभाटका अनुसार दुई ढलानको सो भवन साहित्यिक कार्यक्रम गर्ने सभाहल, भवनको भित्तामा रामायणमा भएका श्लोक र रामायणसँग सम्बन्धित तस्वीर कुँद्ने योजना बनाइएको छ।

रामायण भवनको निर्माण हुनथालेपछि साहित्यिक पर्यटकको ओइरो लाग्ने गरेको छ । १० रोपनी क्षेत्रफलभित्र रामायण भवन, भानुगृह, आवास गृह, चमेना गृह, पुस्तकालय, शौचालय, पोखरीलगायतका संरचना निर्माण गर्ने गुरु योजना बनाइसकिएको समितिका अध्यक्ष श्रीभक्त आचार्यले बताए।

उहाँले रु १९ करोडको गुरुयोजना तयार गरिएको जानकारी दिए। चुँदीरम्घाबेँसीदेखि शिखर कटेरीसम्म पुग्ने करीब तीन किलोमिटर कच्ची मोटरमार्ग निर्माण गरिए पनि वर्षाका कारण हिलाम्मे हुँदा पर्यटकलाई आवतजावत गर्न समस्या पर्ने गरेको छ । सडक कालोपत्रका लागि सरकारसँग बजेट माग भइरहेको समितिका अध्यक्ष आचार्यले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.