काठमाडौं, असार २४: तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीमा पदका आकांक्षीहरु बढेपछि कार्यकर्ताको चित्त बुझाउने प्रदेश र जिल्लामा जम्मबो कमिटी बन्ने भएको छ।
स्थायी समितिमा प्रदेश र जिल्ला कमिटीको प्रस्तावित सदस्य संख्या बढाउन नेताहरूले राखेको सुझाबअनुसार नेकपाले संख्या बढाउने तयारी गरेको हो।
बिहीबार बसेको स्थायी समितिमा प्रदेश कमिटीको आकार न्यूनतमा २ सयदेखि २ सय २५ सम्म पु-याउनुपर्ने नेताहरूले सुझाब दिएका छन्। त्यस्तै, जिल्ला कमिटीको आकार न्यूनतम १ सय ५० सदस्यीय पु-याउनुपर्ने सुझाब आएको एक नेताले बताए। अहिलेको प्रस्तावित विधानमा प्रदेश कमिटी न्यूनतम १ सय ७५ तथा जिल्ला कमिटी न्यूनतम १ सय २५ सदस्यीय बनाउने प्रस्ताव छ।
अधिवेशनबाट निर्वाचित कमिटी नभएकाले एकताको भाव समेट्ने गरी अन्तरिमकालका लागि संख्याका मामिलामा विधान र नियमावली लचक बन्नुपर्ने अधिकांश नेताहरूको सुझाब छ।
‘आकार बढाएर धेरैलाई समेट्ने नाममा धेरै भद्दा कमिटी बनाउनुहुन्न भन्ने नै अधिकांश साथीहरूले सुझाब राख्नुभएको छ,’ स्थायी समिति सदस्य अग्नि सापकोटाले भने, ‘प्रदेश ३ का तर्फबाट हामीले प्रदेश कमिटीमा १० थपेर १ सय ९९ र जिल्ला कमिटी न्यूनतम १ सय ४५ जनाको बनाइनुपर्ने सुझाब राखेका छौँ।’
संख्या टुंगो नलागेका कारण नेकपाभित्र तल्ला कमिटी र जनसंगठन एकीकरण कार्यदलले एकतासम्बन्धी गृहकार्यलाई गति दिन सकेका छैनन्। स्थायी समितिमा नेता योगेश भट्टराईले प्रदेश कमिटी २ सय २५ तथा जिल्ला कमिटी न्यूनतम १ सय ७५ सदस्यीय बनाउनुपर्ने लिखित सुझाब राखेका थिए।