पूर्वसभामुख महरालाई पत्नीशोक

| 2020 Nov 04 | 08:30 am 1742

काठमाडौं, कात्तिक १९: पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नीशोक परेको छ। काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत सीताको ५९ वर्षमा बुधबार बिहान ६:२५ बजे निधन भएको जानकारी प्राप्त भएकाे हाे ।

दशैंमा पुर्ख्यौली घर रोल्पाको मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कात्तिक १३ मा दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वाशप्रश्वासको समस्या देखिएपछि कात्तिक १४मा शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

नर्भिकमा पिसिआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो।

सीता महरा २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी थापाको कोखबाट रोल्पाको गजुल धौलेगाउँमा पहिलो सन्तानको रुपमा जन्मिएकी थिइन् । उनी माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन्।

कृष्णबहादुर महरासँगै २०३५ सालमा विवाह भएको थियो। उहाँका दुई छोरा र दुई छोरी रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.