डोटी, कात्तिक १९ः बालिका बलात्कारको आरोप लागेका २४ वर्षीय प्रहरी जवान सुशील सिंहलाई पक्राउ गरिएको छ । प्रहरी जवान सिंह सोही वडामा बस्ने १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बालिकाका आफन्तले मुद्दा दर्ता गरेपछि पक्राउ परेका हुन् ।
चौकीबाट एकाएक सम्पर्कविहीन भएका उनलाई सोमबार राति कैलाली जाँदै गरेको अवस्थामा सहजुरमा इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय डोटीमा बुझाएको छ ।
बलात्कारको आरोप लगेका सिंहलाई आरोप प्रमाणित भए हदैसम्मको कानुनी कारबाही हुने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहले बताए । उनले भने–प्रहरी जवानले बालिका बलात्कार गरेको आरोपमा मुद्दा दर्ता भएपछि मैले पक्राउ गरी कारबाही गर्न आदेश दिएको छु, आरोप प्रमाणित भए हदैसम्मको कारबाही हुन्छ, पीडितले न्याय पाउनुहुन्छ ।
यसैगरी उक्त अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी प्रमुख तथा प्रहरी सहायक निरीक्षक चन्द्र भण्डारीलाई पनि आवश्यक सोधपुछ तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा झिकाइएको निमित्त प्रदेश प्रहरी प्रमुख सिंहले जानकारी दिए।