भारतीय सेनाध्यक्ष नरवणे आज नेपाल आउँदै

रिपोर्ट नेपाल | 2020 Nov 04 | 07:30 am 2559

काठमाडाैं, कात्तिक १९ः भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे (आज) बुधबार नेपाल आउँदै छन् । नेपाली सेनाले दिने मानार्थ महारथीको उपाधि ग्रहण गर्न नरवणे  नेपाल आउने भएका हुन् ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नरवणे  नेपाल आउन लागेका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ रथीको दर्जा दिने बताइएकाे छ  ।

उनको तीन दिने नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सुधारकाे अपेक्षा गरिएकाे छ । उनले उक्त दर्जा पाएसँगै यहाँ राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । नरवणेले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च तहको भेटवार्ता गर्ने भएकाले यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।

कालपानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवादका कारण दुई देशबीच तिक्तता बढिरहेको बेला नरवणेको भ्रमणले दुई देशको राजनीतिक र कूटनीतिक तहमा लागेको ग्रहण केही हदसम्म हट्ने अपेक्षा लिइएको छ ।

नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलनअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७५ सालमै भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.