प्रहरी जवानले नै बालिका बलात्कारपछि हत्या गर्न खोजेपछि…

रिपोर्ट नेपाल | 2020 Nov 03 | 08:03 am 2246

डोटी, कात्तिक १८ः शान्ति सुरक्षाको जिम्मेवारी लिएको प्रहरी कर्मचारीबाटै बालिकाको बलात्कारपछि हत्या गर्न खोजिएको घटना सार्वजनिक भएपछि मुलुकभर हलचल पैदा भएको छ ।

डोटीका एक सुरक्षाकर्मी नै त्यस्ता घटनामा मुछिएका छन्, जसले सभ्य समाजका साथै नेपाल प्रहरीको पनि मर्यादामा प्रश्न उब्जाइदिएको छ । डोटीको जोरायल गाउँपालिका–५ गडसेरास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुशील सिंह बालिका बलात्कारमा मुछिएका छन् । उनीविरुद्ध किटानी जाहेरी परेपछि उनीविरुद्ध मुद्दा चल्ने भएको छ ।

प्रहरी जवान सिंहले जोरायल गााउँपालिका–५ गडसेरा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोमबार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार बालिकालाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको भन्ने पीडितको उजुरीका आधारमा प्रहरी जवानविरुद्ध मुद्दा दर्ता भएको छ ।

प्रहरी जवान सिंहले कात्तिक १३ गते राति बालिकालाई उनी सुतेकै कोठामा गएर बलात्कारपछि घिसार्दै लगेर रूखमा झुन्ड्याएर हत्याको प्रयास गरेको पीडित किशोरीका आफन्तले आरोप लगाएका छन् । हत्या प्रयासबारे त्यस रात पीडितका पिताले थाहा नपाएको भए ती बालिकाको अकालमा ज्यान जान सक्ने थियो ।

पीडित बालिकाका पिताले भने–सुनसान रात थियो, कोही चिच्याएको जस्तो आवाज आयो, को रहेछ भनेर हेर्न जाँदा आफ्नै छोरीलाई उनको कुर्ताको दोपट्टाले रूखमा झुन्ड्याएको अवस्थामा भेटें । हतारहतार गएर दोपट्टा काटेर बचायौं ।
पीडित परिवार अचेत अवस्थामा भेटिएकी छोरीलाई बोकेर उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुगेको थियो । उपचारपश्चात् बालिकाको होस आएपछि सोमबार बल्ल बलात्कारको मुद्दा दर्ता गर्न आएको पीडित परिवारले जनाएको छ । नेपाल समाचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.