कैलाली, कात्तिक १४ः बिहीबार राति जिल्लाको जानकी गाउँपालिका- ५ मा कुटपिट गरी युवकको हत्या भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिना रहेका छन् ।
राति साढे १० बजेको समयमा जानकी–५ मा युवा समूहको आक्रमणमा परी गम्भीर घाइते भएका तिमल्सिनालाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेकाे इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।
तिमल्सिनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक न्यौपानेले अनुसन्धानका लागि स्थानीय मानबहादुर चैधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिएको जानकारी दिए । घटना भएको ठाउँ जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकाको सीमानामा पर्दछ ।