दशैं नसकिँदै भारत जानेको लर्को

रिपोर्ट नेपाल | 2020 Oct 30 | 08:28 am 3446

धनगढी, कात्तिक १४ः दशैंको टीका थापेर डोटीको पूर्वी चौकी गैरागाउँका किसन विक लालाबालासहित भारत महाराष्ट्रस्थित बरौलीतर्फ लागे । उनी बिहीबार धनगढीको त्रिनगर गौरीफन्टा नाकामा कामका लागि भारत जानेको लर्कोमा एक घण्टाभन्दा बढी समयदेखि सीमा पार गर्न पालो कुरिरहेका थिए ।

भारत जान धनगढीको त्रिनगर भन्सार नाकामा लाम लागेका नेपाली । बिहीबार मात्रै झन्डै १८ सय जना भारत गएका छन्।
कोरोना महामारीको डरले जन्मथलो फर्केका किसन फेरि कर्मथलोमा फर्कनु बाध्यता भएको बताउँछन् । आफ्नो बारीको उत्पादनले खान पुग्दैन, नेपालमा रोजगारी छैन, उनले भने, कामका लागि भारत पस्नु बाध्यता हो ।

१५ वर्षदेखि बरौलीमा सुरक्षागार्डको काम गर्दै आएका किसनको परिवार पनि सँगै बस्दै आएको छ । अरू वर्ष दशैं मनाउन असोजमा घर आउने गरेका किसन तिहारपछि फर्कन्थे । यो वर्ष भने कोरोना संक्रमणबाट बच्न गत असारमै घर आएका थिए । कोरोनाको डर अब यहाँ पनि उत्तिकै छ, उनले भने, आफ्नो सुरक्षामा ध्यान पुर्‍याएर कर्मथलोमै जानु उचित ठानेर फर्कन लागेका हौं । भारतमा कमाएको पैसाले घरमा बस्नेहरूको गुजारा चल्ने गरेको उनले बताए ।

आमा, बुबा, दाजु, भाइ, बहिनीलगायत ११ जनाको परिवारको मियो हुन् उनी । उनीहरू मेरै कमाइको भरोसामा छन्, उनले भने, आफूले भारतमा कमाएको पैसाले जहानपरिवारको घर खर्च चल्छ । उनीसँगै गाउँका १७ जना बरौली, मुम्बईलगायत भारतीय सहरमा जाँदै छन् । उनीहरू बुधबार घरबाट निस्केका हुन् ।

सरकारले रोजगारी गुमाएर घर फर्केकालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको दाबी गरे पनि कोरोना कहरबीच बिदेसिइरहेका युवाले भने कुनै जानकारीसमेत नपाएको गुनासो गरेका छन् ।  कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.