विगत जस्तो रहेन दशैँको रौनक

| 2020 Oct 29 | 09:11 am 3319

काठमाडौं, कात्तिक १३ः राजधानी काठमाडौंमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन ।

कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो । शहर विकास हुँदै गरेको राजधानीको ग्रामीण भेगमा गतवर्षको दशैँमा टोलैपिच्छेका चौतारी, चोक एवं सार्वजनिक स्थलमा लिङ्गे, जाँते र रोटे पिङ हालेर चचहुई गर्दै खेल्ने मानिसको भीड भेटिन्थ्यो । तर यस वर्ष भने पिङ भेट्न नसकिएको कागेश्वरी मनोहरा–५ की मनीषा सिम्खडाले बताए ।

साना बच्चाका लागि केही घरको छतमा साना पिङ हालेर खेलाएको दृश्य देखिन्छ । सार्वजनिक स्थलमा पिङ हाल्दा भीड बढी हुने र कोरोनाको महामारी फैलने डरले सांंस्कृतिक खेलको आनन्द लिनबाट मानिस बञ्चित भएका छन् । गोकर्णेश्वर नगरपालिका–३ स्थित पर्यटकीय स्थल तारेभीरमा भने स्थानीयवासी दशैँमा पिङ खेलेर रमाइरहेका भेटिन्छन् । पिङमा रम्ने काठमाडौंका अन्य क्षेत्रका मानिस यस वर्ष भने सामाजिक सञ्जालमा व्यस्त छन् । धेरैको चाहना नयाँ नयाँ टिक टक बनाएर पोष्ट गर्नतिर गएको छ । आपसमा भेटघाट गर्न पनि मानिस डराएका छन् ।

कोरोनाबाट बच्न नजिकको आफन्तकहाँ मात्र पुगेर मान्यजनबाट आशीर्वाद लिएका मानिस राजधानीकै एक कुनाबाट अर्को कुनामा जान सकेका छैनन् । निजी सवारी हुनेहरु आफन्तकहाँ पुगेपनि सार्वजनिक यातायात प्रयोग गरेर जानेहरु बढ्दो सङ्क्रमणबाट हिँड्न तर्सिएका छन् ।

सामाजिक सञ्जालद्वारा मान्यजनबाट आशीर्वाद लिएर चित्त बुझाएको चन्द्रागिरी–१ का रामचन्द्र भण्डारीले बताए । त्रासकै बीच यस वर्ष राजधानी बाहिर जाने सवारीमा पनि विगत वर्षमा जस्तो भीड भएको छैन । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.